के हो ‘सेक्सुअल ह्र्यासमेन्ट’? अमेरिकामा पीडितले न्याय कसरी पाउने ?


विगत ५३ वर्ष देखि अमेरिकामा ‘वोर्क प्लेस सेक्सुअल ह्र्यासमेन्ट’ गैर कानुनी छ। सन १९६४ मा ‘सिभिल राइट एक्ट’ को एउटा प्रोभिजनका रूपमा राखिएको ‘Title VII’ को स्थापना सँगै सुरु भएको यो कानुनको अभ्यास भने पछिल्ला ५-७ वर्ष देखि बढी पाइएको छ। हलिवूड मुगल हार्भी विन्स्टन देखि मिडिया मुगल रोजेर इलियास सम्म, प्रख्यात कमेडियन बिल कोज्बी देखि फक्स न्युजमा ‘नम्बर १ ‘ टक सो चलाउने बिल ओ’राइलि सम्म, सेलेब्रेटी शेफ जोन बेस देखि युएससी मेडिकल स्कुलका डिन डा. रोहित बर्मा समेतलाई सेक्सुअल ह्र्यासमेन्टका पुराना घटनाहरूले उदाङ्गो पारेको छ। हरेक तह र तपेकाका ‘ठुला’ नामहरू सेक्सुअल ह्र्यासमेन्टका केसहरूमा जोडिनु र ती नामहरूलाई सार्वजनिक गर्ने अधिकांश महिलाहरू पनि आ-आफ्ना क्षेत्रमा स्थापित भएकाले अन्य साधारण जीवन बाचिरहेका महिलाहरूलाई खुलेर बोल्न धेरै हद सम्म सजिलो भएको छ। परिणाम स्वरूप, सेक्सुअल ह्र्यासमेन्टका घटनाहरू दिन प्रति दिन अमेरिकामा बढ्दो छन्।

अमेरिकामा सामाजिक, आर्थिक, राजनैतिक र सांस्कृतिक रूपमा समानान्तर रूपले विकास गरिरहेको अमेरिकन नेपाली समुदाय पनि सेक्सुअल ह्र्यासमेन्टका घटनाहरू बाट अछुतो रहेको छैन। कलाकार निकाकी कार्की सम्भवत पहिलो नेपाली अमेरिकन हुन् जसले आफू माथि भएको सेक्सुअल ह्र्यासमेन्टको विवरण हिम्मतका साथ सार्वजनिक रूपमा खुला गरिन्। दुर्भाग्य, सबै चेलीहरूमा निक्कीको जस्तो साहस हुँदैन। कति घटनाहरू पीडितले आफ्नो ‘इमेज खराब हुने ‘ डर ले सार्वजनिक गर्न सकिरहेका छैनन्। कति घटनाहरू पीडकको डर, त्रास र प्रलोभनका कारण पनि सुरु नहुँदै सकिएका छन्।

यो समस्या नेपाली अमेरिकन समुदायको मात्र होइन। अमेरिकन सरकारको एउटा निकाय ‘यूएस ईकुयल इम्प्लोयमेन्ट अपर्चुनिटी कमिसन (ईईओसी )का अनुसार ४ मध्य ३ सेक्सुअल ह्र्यासमेन्टका पीडितले आफ्नो पिडा दबाएर राख्छन्।
अमेरिकन समुदायमा समेत सेक्सुअल ह्र्यासमेन्टका विषयमा प्रशस्त बहस भएको पाइँदैन। पछिल्ला वर्षहरूमा अमेरिकामा धेरै जसो कम्पनी तथा रोजगारदाताहरुले आफ्ना कर्मचारीहरूलाई यो विषयमा ज्ञान दिन विभिन्न किसिमका ‘कम्प्लायन्स’ तालिमहरू दिन सुरु गरेका छन्।

अमेरिकाको नेपाली समुदाय त यो विषयमा करिब करिब मौन नै छ। के सेक्सुअल ह्र्यासमेन्ट हो र पीडितहरूले कसरी न्याय पाउन सक्छन् भन्ने विषयको जानकारी नहुँदा समुदायमा जानी- नजानी यी घटनाहरू घटेका छन् भने पीडितहरू पनि आफ्नो पिडालाई दबाउन बाध्य छन्।
केही दिन अघि सेतोपाटीले डालस नेपाली समुदायमा भएका सेक्सुअल ह्र्यासमेन्टका केही अपुष्ट खबरका बारेमा समाचार प्रकाशित गरे पछि यो विषयमा स्थानीय र अमेरिका भरि चर्चा अझ चुलिएर गएको छ। हाल आएर हाम्रा समुदायमा सेक्सुअल ह्र्यासमेन्टका विषयमा छलफल तथा जनचेतना अभिबृद्धीका कार्यक्रमको अभाव महसुस गरिएको छ। सबै भन्दा पहिले त हामीलाई आधारभूत रूपमा सेक्सुअल ह्र्यासमेन्ट के हो भन्ने विषयमा जानकारी आवश्यक छ।

के हो सेक्सुअल ह्र्यासमेन्ट? : नमागेर, नचाहेर र स्वीकार नगरी गरिने कुनै पनि यौनजन्य व्यवहार नै सेक्सुअल ह्र्यासमेन्ट हो, जो मौखिक, सांकेतिक, लिखित वा शारीरिक हुन सक्दछ। सामान्यतया सेक्सुअल ह्र्यासमेन्ट दुई प्रकारका छन्। १) Quid Pro Quo, अथार्त ‘यसको बदलामा त्यो’। ल्याटिन ‘टर्म’ Quid Pro Quo को अर्थ कुनै कुरा, बस्तु, सेवा वा अन्य, प्राप्तिका लागी अर्को कुराको अदला-बदली भन्ने हुन्छ। आर्थिक वा अन्य कुनै पनि प्रकारका प्रत्यक्ष वा अप्रतक्ष्य रूपमा दिइने प्रलोभन तथा सांकेतिक प्रलोभन, सामाजिकरुपमा बदनाम भइने डर देखाएर प्राप्त गरिने अनुचित लाभ तथा अन्य कुनै पनि प्रकारमा यो गरे त्यो गर्छु भनेर गरिने उत्पीडन नै Quid Pro Quo को परिभाषामा पर्छ।

पछिल्ला केही दिनमा यो पंक्तिकारले व्यक्तिगत रूपमा भेटेका दुई चेलीका बयान र र फेसबुक मार्फत प्राप्त केही सन्देशलाई आधार मान्य हो भने हाम्रो समुदायमा Quid Pro Quo सेक्सुअल ह्र्यासमेन्टका घटना थुप्रै छन्। रेस्टुरामा तलब बढादिने, स्टोरको घण्टा बढाइदिने, घर र काममा ड्रप तथा पिकअप को व्यवस्था गरिदिने जस्ता अत्यन्त सामान्य आर्थिक लाभ देखि ‘कम्प्लेन’ गरे पछि अमेरिकी अध्यागमनमा फोन गर्छु भनेर पीडितलाई उनीहरूको बाध्यताको सिकार बनाउने आपराधिक मनोवृत्ति समेत समाजमा पाइएको छ। सामान्यतया पहुँच र हैसियत भएकाहरुले आफू भन्दा ‘मुनिका’ लाई उनीहरूको स्थितिको फाइदा उठाएर गरिने सेक्सुअल ह्र्यासमेन्ट नै Quid Pro Quo सेक्सुअल ह्र्यासमेन्ट हो।

अर्को प्रकारको सेक्सुअल ह्र्यासमेन्ट हो – “Hostile work environment sexual harassment” अथार्त शत्रुतापूर्ण तरिकाले नचाहेको तरिकामा यौनजन्य विषयमा सृजना गरिएको कामको वातावरण। यो अग्रेजी वाक्यको शुद्ध नेपाली उल्था जे भए पनि यसको अर्थ भने यौनजन्य विषयमा ‘ अन्वान्टेड’ र ‘अन-वेल्कोम’ विषय र कार्यहरू गरिनु, देखाइनु वा ती संधर्वमा चर्चा गरिनु हो। यो प्रकारको सेक्सुअल ह्र्यासमेन्टलाई तिन तरिकाले विभाजित गरिएको छ:

अन-वान्टेड सेक्सुअल स्टेटमेन्ट: यौनजन्य कुराहरू,’डर्टी’ जोक्स, शारीरिक अङ्ग लक्षित टिप्पणी, अरू कसैको विषयमा यौनजन्य भ्रमको फैलाइनु, कुनै एकको यौनजन्य गतिविधि वा सो सम्बन्धित सूचना तथा सामान्य टिप्पणी अरू सँग गरिनु, यौनजन्य तस्बिर वा कुनै आकृति देखाइनु लगायतका तमाम विषयहरू अन-वान्टेड सेक्सुअल स्टेटमेन्टको परिभाषामा पर्दछन्।

अन-वान्टेड पर्सनल अटेन्सन: सम्बादका कुनै पनि तरिका मार्फत कसैलाई उसको चाहना बेगर प्रदान गरिने अनावश्यक ‘अटेन्सन’ नै अन-वान्टेड पर्सनल अटेन्सनको दायरामा छन्।

सेक्सुअल ह्र्यासमेन्ट को अत्यन्त आम मानिएको प्रकार हो – अन-वान्टेड फिजिकल एड्भान्सेस। यो हाम्रो समुदायमा अत्यन्त ‘कमान’ मानिएको सेक्सुअल ह्र्यासमेन्ट हो। कसैको अनुमति बिना गरिने यौनजन्य हिसाबले गरिने ‘फिजिकल टच’, अङ्गमाल, चुम्बन, लगायत यौन शोषण र अन्य यौनजन्य क्रियाकलापहरूलाई अन-वान्टेड फिजिकल एड्भान्सेसले परिभाषित गरेको छ।

पीडितले न्याय कसरी पाउने: अमेरिकी केन्द्र सरकार, राज्य सरकार तथा धेरै जसो स्थानीय नगर प्रशासनमा सेक्सुअल ह्र्यासमेन्टका पीडितलाई मद्दत गर्ने निकायहरू स्थापित छन्। त्यति मात्र नभएर सेक्सुअल ह्र्यासमेन्टका विरुद्धमा सञ्चालित नाफारहित गैर सरकारी संस्थाहरूले पनि कानुनी तथा अन्य उपचार प्रदान गरिरहेका छन्। महिला हिंसा तथा सेक्सुअल ह्र्यासमेन्टका केसहरूमा कानुनी उपचार दिलाउँदै आएकी न्यु योर्क कि बिष्णुमाया परियारका अनुसार प्रत्येक राज्यमा, विशेष गरी टेक्सासमा, अटोर्नी जनरल को कार्यालय अन्तर्गतको ‘क्राइम भिक्टिम’ विभागमार्फत आर्थिक तथा अन्य सहयोग समेत पीडितहरूले पाउन सक्छन्।

अमेरिकामा बिधार्थी भिसामा रहेका नेपाली चेलीहरू कानुनी रूपमा बाहिर काम गर्न पाउँदैनन्। आफ्नो खर्च जुटाउन नगदमा काम गर्नु पर्ने बाध्यता नै पीडकको सबै भन्दा बलियो हतियार बन्यो। प्रशासनमा आफू माथि भएको अत्याचारको खबर गरेमा आफू समेत समस्यामा पर्न सक्ने डरले अधिकासं घटनाहरू बाहिर आउँदैनन्।

तर, अमेरिकाको कानुनले पीडितहरूलाई हरेक प्रकारबाट सुरक्षित गरेको र अध्यागमन सँग सम्बन्धित थप सुविधा समेत पाइने जानकारी बिष्णुमाया परियारले सेतोपाटीलाई दिइन्। अमेरिका भरि बाट पीडितहरूले यूएस ईकुयल इम्प्लोयमेन्ट अपर्चुनिटी कमिसन (ईईओसी )को वेबपेज https://www.eeoc.gov/employees/charge.cfm मा गएर आफ्नो केस फाइल गर्न सकिन्छ। यसका अलावा National Sexual Assault Telephone Hotline को फोन नम्बर ८००-६५६-४६७३ मा फोन गरी गोप्य रूपमा केस फाइल गर्न सकिन्छ। यी सबै सुविधाहरू गोप्य र निःशुल्क रूपमा उपलब्ध गराइन्छन्।

अमेरिकन भारतीयहरूद्वारा टेक्सासमा स्थापित दया फाउन्डेसनले पनि पीडितहरूलाई सहयोग गर्दै आएको छ। उल्लिखित नामहरू त केही उदाहरणकालागि मात्र प्रस्तुत गरिएका हुन्। सयौँ सरकारी तथा गैरसरकारी सहयोगी संस्थाहरू अमेरिका भरि छन्।

अन्त्यमा, कुनै एकलाई ‘हल्का’ लाग्ने विषय अर्कोको लागी अत्यन्त ‘भारी’ हुन सक्छ। ‘मजाक’ मा बोलिएका शब्द तथा व्यवहारहरू अरू कसैका लागी आपत्तिजनक हुन सक्छन्। यो पंक्तिकारले केही दिन अघि डालस नेपाली समुदायमा घटेका केही घटनाहरूको अपुष्ट खबरका आधारमा लेखेको खबरले हाम्रै समुदायमा एक- अर्काको ‘साख’ गिराउने अवसर बनेको समेत समाजबाट छिपेको छैन। स्थानीय केही नामहरूलाई जोडेर बजारमा हल्ला फैलाइएको छ वा हल्ला फिजाउने कोसिस गरिएको छ – जुन आफैमा एक अर्को किसिमको सेक्सुअल ह्र्यासमेन्ट हो। कसैलाई दोषी ठहर गर्ने अधिकार मात्र अदालत सँग सुरक्षित छ। नेपाली चेलीहरूका पक्षमा लडिएको यो लडाई डालस नेपाली समुदायमा ‘अगुवा’ भनिएकाहरुका लागी एक-अर्का विरुद्धको आपसी मनमुटाव साट्ने माध्याम नबनोस। दोषीलाई हद सम्मको सजाय होस् र निर्दोषलाई ‘इन्च’ पनि असर नहोस्।

Share:

© 2017 Setopati Sanchar Pvt. Ltd.