अष्ट्रेलियामा नेपाली विद्यार्थीका समस्या र जोडिएका प्रसंग


अनेकौं सपना सजाएर सात समुद्रपारीको देश अष्ट्रेलिया भित्रिने नेपाली विद्यार्थीहरूको संख्या पछिल्लो २ वर्षमा नाटकीय रूपमा बढेको छ। यसले गर्दा राम्रा नराम्रा परिणाम सतहमा छरपस्ट देखिन थालेका छन्।

मानव विकास सुचाङ्कमा १ सय ४४ औं र क्षेत्रफलका हिसाबले ९३ औं ठूलो देश हो नेपाल। दक्षिण एशियाको एउटा सानो देश नेपालबाट संख्याका हिसाबले जुन अनुपातमा विद्यार्थी अष्ट्रेलिया भित्रेका छन्, त्यसले विकास र विश्व मानचित्रमा नेपालको स्थानमाथि पुर्याउन कति योगदान पुग्यो होला भन्ने कुराको अध्ययन गर्ने बेला अब पक्कै भएको छ।

क्षेत्रफलमा आधुनिक विश्वको छैठौं ठूलो, अर्थतन्त्रमा १९ औं र मानव सुचाङ्कका हिसाबले दोस्रो ठूलो देश अष्ट्रेलियासँग नेपालले साइनो गाँसेको पनि एकजुग भइसक्यो।

वि.सं २०१६ फागुन ३ गते बिपी कोइरालाको सरकार रहेका बेला कुटनीतिक सम्बन्ध स्थापित देश अष्ट्रेलियामा नेपाली दूतावास खुलेको पनि २०६३ यता ११ वर्ष भइसक्यो। यसको मतलब गएको दशक सक्रिय ठानिएको हाम्रो कुटनीतिको वजन र दबाब मार्फत् आपसी सम्मान र हितका आधारमा दुबै देशलाई हित हुने ब्यापार, शिक्षा, स्वास्थ्य, प्रविधि, अनुसन्धान र विकासका अनेक आयाममा थप योगदान गर्दै आर्थिक, सामाजिक, साँस्कृतिक अनि बहुआयामिक उत्थानका लागि गुणात्मक नतिजा आउन सुरू हुन पर्ने बेला भएको धेरैलाई महशुस हुनुपर्छ। तर धेरै नेपाली विद्यार्थी अष्ट्रेलियामा पढ्न किन आइरहेछन्? यहाँको राजस्वमा नेपाली विद्यार्थीको योगदान कति छ? नेपालसँग अष्ट्रेलियाको आर्थिक कारोबार किन एकतर्फी छ? विद्यार्थीको सख्यासँगै उत्पन्न जटिलता र दर्जनौं समस्याको पहिचान भएको छ त? पछिल्लो चरणमा बदलिएको आप्रवासी नीति र सीप छनोट प्रकृयामा देखिएको सिमित सम्भावनाका बीच पनि हुलका हुल होनहार नेपाली नवयुवा युवती यति ठूलो सख्यामा किन ओइरिएका छन् त अष्ट्रेलिया? यी यावत कुराहरू केलाउने सानो प्रयास यहाँ गरिएको छ।

तथ्यांकले के भन्छ?

सन २००७ को नोभेम्बरमा ‘दि अष्ट्रेलियन दैनिक’ले आफ्नो अनलाइनमा सानो समाचार राखेको रहेछ। समाचारको अर्थ थियो अष्ट्रेलिया आउने नेपाली विद्यार्थीको सख्या ह्वात्तै बढ्यो। अघिल्लो वर्षभन्दा यो वर्ष ५ सय प्रतिशतले बढेर यो सख्या २ हजार ९ सय भयो। सायद आफैं खर्च गरेर आउने र पहिलेदेखि विभिन्न छात्रवृत्ति, सरकारी कोटा लगायत विभिन्न फेलोशिपमा पढिरहेका नेपाली विद्यार्थीको सख्या ७ हजार ६ सय पुग्यो भन्ने आसय त्यो समाचारको थियो। यसको अर्थ २००६ सम्म त खासै उल्लेख्य सख्यामा नेपाली विद्यार्थी अष्ट्रेलिया आएका रहेनछन्। आजभन्दा ११ वर्षअघि त्यति थोरै विद्यार्थी आउँदा पनि अष्ट्रेलियामा विद्यार्थी पठाउने देशमा नेपाल ११ औं थियो। त्यो बेला नेपाली विद्यार्थीलाई अष्ट्रेलियाको भिषा लाग्दा पनि ठूलै महत्वको मानिन्थ्यो। अमेरिका र बेलायत जान पाउनेको रौनक पनि त्यो बेला अहिलेभन्दा चर्कै थियो। अहिले भने नेपालीहरूको गन्तब्य अमेरिका, बेलायत वा केही अन्य देशभन्दा अष्ट्रेलियामा सहज भएको छ।

हरेक वर्ष यति आउँछन् भन्दा ठ्याक्क नमिल्न सक्छ तर  आजका मितिमा अष्ट्रेलियामा करिब ३२ हजार नेपाली विद्यार्थी भिषामा रहेका छन् । अहिले १ लाख ६५ हजार(३१%) चिनियाँ, ६५ हजार (१२%) भारतीय पछि तेस्रो स्थानमा ३२ हजार (६%) नेपालीहरू अष्ट्रेलियामा विद्यार्थी भिषामा रहेको तथ्यांक छ।

स्रोतः अष्ट्रेलिया सरकारको ‘शिक्षा तथा तालिम विभाग’

पछिल्लो चरणमा चीन र अमेरिकाको खिचातानीमा अष्ट्रेलियाले आफूलाई बीचमा राख्न गाह्रो परिरहेको छ। व्यापार र कुटनीतिमा मात्र केन्द्रीत नभएर विद्यार्थीहरूको सुरक्षाको बारेमा चिनियाँ पक्षले चासो दिएका बेला त्यताबाट आउने विद्यार्थीको सख्यामा कमी आउने अनुमान गर्न समेत थालिएको छ।

खासगरी, अष्ट्रेलियामा विश्वविद्यालय र भोकेसनल सेक्टरमा पढ्ने अन्तर्राष्ट्रिय विद्यार्थीको सख्या बराबर अर्थात् १५ -१५ % छ भने स्कुल पढ्नेको ९% रहेको छ। अंग्रेजी भाषा र नन अवार्ड सेक्टरमा पढ्नेको सख्या नगन्य छ।

अष्ट्रेलियामा हाल स्थायी बसोबासको अनुमति (पिआर) लिएका कति छन् भन्न नसकिए पनि नागरिकता लिनेको सख्या ५० हजार नाघिसकेको छ। समग्रमा यी दुबैथरी गरेर नेपालीको जनसंख्या अष्ट्रेलियाको सम्पूर्ण जनसंख्याको ०.२५% भन्दा बढी हो।

गएको एक दशकमा सरदर वार्षिक २७% प्रतिशतले बढेका नेपालीहरूको औसत उमेर २८ देखि ३० वर्षको बीचमा रहेको छ। यसको मतलब नेपालको एउटा उर्भर र उत्पादक उमेरका झण्डै एक लाख नेपाली यो देशमा बसिरहेका होलान् भनेर अनुमान लगाउन कुनै गाह्रो छैन। सायद स्वदेश फर्कने झिनो चाहना पालेर अष्ट्रेलिया पसेका केही बाहेक धेरै नेपाली उज्ज्वल भविश्यको सपना बोकेर पलायन भएका छन् भन्दा फरक पर्दैन।

एक नेपालीको साप्ताहिक आम्दानी करिब ८ सयदेखि एक हजार डलरको बीचमा रहेको छ।

कसको योगदान कति? नेपालको कि अष्ट्रेलियाको?

सन २०१५/१६ मा मात्रै अष्ट्रेलियाले विदेशी विद्यार्थीबाट जम्मा गरेको करिब २० अर्ब डलरमध्ये नेपालको हिस्सा ३.५ % हेर्दा मात्रै पौने १ अर्ब डलर बराबर (साउथ एसिया न्युज २८ नोभेम्बर २०१६) हुन्थ्यो।

अहिले वार्षिक २४ अर्ब डलर अन्तर्राष्ट्रिय विद्यार्थीको पढाई र बसोबासबाट प्राप्त हुँदा नेपालीको हिस्सा ६% ले भाग गरेर आउने रकम झण्डै १ खर्ब १५ अर्ब रुपयाँ (दि अष्ट्रेलियन दैनिकको न्युज रिपोर्ट) नेपालबाट विद्यार्थीका नाममा अष्ट्रेलिया भित्रिन्छ।

अझ ८/१० वर्ष विभिन्न विषय पढ्दै स्थायी अनुमति पत्र लिन मिल्ने विषय पढ्ने धुनमा लामो समय पापड बेल्न पर्ने विद्यार्थीले देशको माटोमा रगत पसिना चुहाएर बिताइसकेको हुन्छ।

यति ठूलो लागानी गरिएको बहुसाँस्कृतिक देश अष्ट्रेलियामा पाइने अवसरको लागि नेपालबाट भइरहेको योगदानलाई मध्यनजर गर्ने हो भने हामीले पनि बार्गेनिङ पावर बढाउने बेला भएको छ।

आपसी सहकार्यमार्फत् अष्ट्रेलिया सरकारबाट सहुलियत वा सहयोग लिएर नेपालको विकास र समस्यामा पर्ने विद्यार्थीको हितमा लगाउन हामी किन नसक्ने? यसलाई केले रोकेको छ? हाम्रो कमजोर कुटनीतिक क्षमताले वा गैर आवासीय नेपाली समाज वा नेपाली सामुदायिक संस्था र व्यक्तिहरूको अकर्मण्यताले वा अष्ट्रेलियाले रणनीतिक रूपमै महत्त्व नदिएकाले? के ले रोकेको छ यी यावत कुरा गर्नलाई? यसको खोजी गर्ने बेला भएको छ।

अर्को तर्फ नेपाल र अष्ट्रेलिया बीचको व्यापारको भोलुम हेर्यो भने उदेकलाग्दो छ। वस्तु तथा सेवामध्ये पोहोरसम्म वार्षिक ५० मिलियनका विभिन्न उत्पादन अष्ट्रेलियाबाट नेपाल गएको थियो। जब कि नेपालबाट जम्मा ८ मिलियन बराबरको वस्तु व्यापार अष्ट्रेलियातर्फ भएको देखिन्छ। तर सेवातर्फ भने झण्डै एक अर्वको व्यापार त अष्ट्रेलियाले नेपालमा मात्र गरेको छ भने अष्ट्रेलियातर्फको नेपालको सेवा क्षेत्रको कारोबार जम्मा सय मिलियन बराबर देखिन्छ।

सेवातर्फ त अष्ट्रेलियाबाट बढी निर्यात हुने मुलुकमध्ये नेपाल १६ औंमा पर्छ भने आयात हुनेमा ५४ औं स्थानमा पर्छ।

यो कहाली लाग्दो व्यापार घाटालाई अनेकौं सम्भावना हुँदाहुँदै पनि हामी किन कम गर्न सकिरहेका छैनौं? प्रश्न गम्भिर छ।

स्रोतः विदेश मामिला तथा व्यापार विभाग

हुन त विश्वका १ सय ९० देशका विद्यार्थी पढ्न आउने देशमध्ये केही मुलुक चाहीँ अष्ट्रेलियाको प्राथमिकतामा व्यापारिक वा आपसी सन्धि सम्झौता हेरेर महत्वमा पर्ने गर्छन्।

विदेश मामिला तथा व्यापार विभागको नेपाल सम्बन्धी जानकारीका अनुसार पोहोर पौने ३ अर्ब रुपयाँ ((३३.९ मिलियन डलर) सहयोग गरेको अष्ट्रेलियाले यो पटक ३०.६ मिलियन डलर अर्थात् २ अर्ब ५० करोड रुपैयाँमा झारेको छ। केही वर्ष पहिले टोनी एबटको सरकारले नै नेपाललाई ३८ मिलियन अर्थात् ३ अर्ब ४० करोड रुपैयाँ सहयोग गरेको थियो।

यसरी हेर्दा रणनीतिक रूपमा वैदेशिक एड फ्रिज गर्ने नीति लिएर अफ्रिका लगायतका देशमा सहायता कटौती गरेको अष्ट्रेलियाले छिमेकी पपुवा न्यूगिनी र प्रशान्त क्षेत्रका केही स–साना टापु देशहरूमा लगानी कायमै राखेको छ। करिब एक अर्ब १५ करोड डलर विद्यार्थीमार्फत् प्राप्त गर्ने नेपालतर्फ पनि सहयोग र लगानी प्राथमिकतामा पार्न के गर्न सकिएला? भन्ने अहिलेको चासो हो।

विद्यार्थीका समस्या पहिचान र समाधानमा चासो

यो पटक धेरै चासो र चिन्ताकाबीच नेपाली दूतावास क्यानबेरा र न्यू साउथ वेल्सस्थित नेपाली महावाणिज्यदूत दीपक खड्काको पहलमा अष्ट्रेलियामा नेपाली विद्यार्थीहरूका समस्या न्यूनीकरणका लागि के गर्न सकिन्छ त? भनेर काम सुरू गर्ने उद्देश्यले एक छलफल आयोजना गरिएको थियो।

नेपाली विद्यार्थीहरूलाई अष्ट्रेलिया आउन सघाउने परामर्शदाताहरूको संगठन अष्ट्रेलियन एडुकेसन कन्सल्ट्यान्ट्स एलाएन्स(एइसिए), अष्ट्रेलियास्थित व्यवसायिक प्रतिनिधि, नेपाली समुदायका अग्रज, बुद्दिजिवी तथा गैर आवासीय नेपाली संघ (एन आरएन) का प्रतिनिधि सम्मिलित पहिलो बैठकले नेपाली महावाणिज्यदूत दीपक खड्काको नेतृत्वमा एक कार्यदल गठन गरी नेपाली विद्यार्थीहरूको हितमा काम गर्न प्रेरित गर्न सम्बन्धित निकायमा झक्झकाउन सकिने उपायबारे छलफल गरेको महावाणिज्यदूत दीपक खड्काले बताए।

यो बहुसांस्कृतिक मुलुकमा आइपर्ने अप्ठ्यारा, जटिलता, आपतविपत् र मनोवैज्ञानिक दबाबलाई कम गर्न ढाडस दिन सकिने उपायबारे नेपालस्थित अभिभावक, अष्ट्रेलियास्थित आफ्न्त छिमेकी शुभचिन्तक र समुदायका प्रतिनिधिको उत्तिकै भूमिका रहेको बारेमा भने अब कुनै विवाद गरिरहनु परेन।

अष्ट्रेलियामा नेपाली विद्यार्थीका समस्या के त?

नेपालबाट आफ्ना छोराछोरीको अष्ट्रेलिया जाने भिषा लाग्ने वित्तिकै गौरवान्वित हुने अभिभावकहरूले यहाँ आउने बित्तिकै आफ्ना सन्तानले व्यहोर्ने जटिलता र संघर्षबारे अनभिज्ञता प्रकट गर्नु जति उदेकलाग्दो कुरा केही पनि छैन।

केही दिनअघि एक आफन्त, १८ वर्ष पुगेकी युवती मध्यरातको १२ बजे ब्रिसवेन विमानस्थल उत्रने खबर पाएको यो पंक्तिकार उनलाई बस्ने व्यवस्था मिलाइदिने आफन्तसँगै विमानस्थल पुग्दा अन्य केही स–साना नेपाली युवतीहरू आफ्ना मान्छे पर्खेर मध्यरातको सुनसान चिसोमा उभिइरहेका थिए।

उनीहरूलाई अष्ट्रेलिया ल्याउन सघाउने नेपाली परामर्शदाताका प्रतिनिधि पनि विमानस्थलमा थिए। अब कहाँ र कसरी गइन्छ? भन्नेमा चिन्तित नदेखिए पनि आगामी दिनका जटिल संघर्ष र तनावबारे उनीहरूका अनुहारमा एकरत्ती पनि अन्योलताको भाव झल्कन्थेन। बरु उनीहरू हत्त न पत्त वाइफाइ अन गरेर नेपालमा बाआमा र आफन्तलाई फोन गर्दै म त आइपुगें, अब चिन्ता लिन पर्दैन, भोलि फेरि फोन गर्छु है भन्दै कुरो टुंग्याउँदै आफ्नो गन्तव्यको खोजीतर्फ लाग्थे। उनीहरूमध्ये धेरैलाई केही दिनलाई आफन्त साथी वा नेपालबाटै बुक गरिएको होस्टल वा डेरामा जाने हतारो थियो।

विस्तारै दिन बित्दै जाँदा कलेजको फि तिरेको पहिलो सेमेस्टर सकिने बित्तिकै बाबु आमाले कमाएको खाएर पुल्पुलिएका युवायुवतीको मस्तिष्कमा विस्तारै तनावको डिग्री बढ्न थाल्छ।

नेपालमा प्रशस्त सम्पत्ति भएकाले पनि केही न केही काम गरेर पढेको फि तिर्ने गरेका हुन्छन्। त्यसका अलावा, भन्ने बित्तिकै काम नपाउने समस्या, बस्ने ठाउँको राम्रो प्रबन्ध नभएर डेरा वा एपार्टमेन्ट सरिरहन पर्ने बाध्यता, शेयर्ड एकोमोडेसनमा हुने शोषण वा ठगी वा यहाँको पि आर वाला आफन्तको सिफारिशमा रियल स्टेटबाट घर वा युनिट भाडामा लिन प्रयास गर्दा धेरैले हैरानी पाउने कुरा त नियमित नै हुन्। तर पनि समयको फेरोसँगै संघर्ष जीवनको अभिन्न अंग भएझैं विस्तारै यी कलिला विद्यार्थीको दिनचर्या संघर्ष मेहेनतको मार्ग हुँदै अनेकौं जटिलताबीच अघि बढ्दै जान्छ। कोही पढाइमा सफलतासँगै राम्रो गर्दै अघि बढ्ने तरखरमा हुन्छन् त कोही लामो समय अनेकौं समस्यासँग जुध्न बाध्य हुन्छन्। धेरैलाई लामो समय अलमलिन पर्ने हुन सक्छ। तर अहिले समय फेरिएको छ।

अष्ट्रेलियाले पत्याउने विषय र क्षेत्र सिमित भएको छ। स्थायी बसोबासको अनुमतिका लागि अनेकौं जटितला र चाहिने न्यूनतम सीप वा योग्यता लिन थुप्रै नियम र अप्ठ्यारा समेत थपिएका छन्। अष्ट्रेलियाले धेरै विद्यार्थी लिने नीति लिएका बेला थुप्रै नेपालीहरूलाई विद्यार्थी नै रहेर कलेजको कामको करको दायरामा बाँधिएर अलमलिन पर्ने अर्को नियति त छ नै।

केही दिनअघि अष्ट्रेलियाको एक राष्ट्रिय प्रसारण संस्था एबिसीको अनलाइन समाचारमा एशियाली विद्यार्थीहरूले भोग्न परेको गरिबी, जाति वा वर्णभेदी घृणा वा एक्लोपनाको बारेमा दिक्क लाग्दो समाचार छापिएको थियो। त्यसको केही दिन अघि गएको अप्रिलमा एबिसिको अर्को समाचारमा नेपाली विद्यार्थी डेराको अभावमा एक स्थानीय विश्वविद्यालयको रातभरी खुल्ने पुस्तकालयमा सुत्ने गरेको भेटियो।

अर्कोतर्फ सिड्नीमा उत्पन्न हाउसिङको समस्यालाई नेपाली विद्यार्थीको हावाला दिएर समाचार छाप्ने मिडिया पनि नभेटिएका होइनन्।

यस्तै सामग्री ‘दि गार्जियन दैनिकको अनलाइन संस्करण’ मा केही हप्ताअघि पढिएको थियो।  कहिले काहीँ केही युवाहरू रेल्बे नजिकका खुला प्रातिक्षालयमा सुत्ने गरेको समाचार त पहिले पनि नआएको होइन।

एकै ठाउँमा धेरै जना मिलेर बस्न पर्ने अवस्थाको अन्त्य त अझै पनि भइसकेको छैन। झण्डै ५.२५% बेरोजगारी रहेको देशमा जस्तोसुकै भए पनि काम त जेनतेन आफ्नै सीप र खुबी अनि आपसी नेटवर्कका आधारमा नपाइने होइन। तर सुरूका दिनमा हुने कामको अभाव, कलेजको फि लगायतका जटिलता र मानसिक दबाबका कारण उत्पन्न विकृतिले ल्याउने सामाजिक आर्थिक र मानसिक समस्याको प्रतिफल कहिले काहीँ नसोचेको घटना घट्न जान्छ। यदाकदा हुने आत्महत्या, मानसिक विमारी, हिंसात्मक गतिविधि, आक्रोश वा अन्य खाले समस्याले जन्माएको परिस्थितिले कहिले काहीँ नेपाली समाज पिरोलिने गर्छ भने यहाँको सरकार पनि रनभुल्ल पर्ने गर्छ।

सामान्य अवस्थामा र काममा हुने यौनजन्य दुर्व्यवहार, श्रम शोषण, घरेलु  हिंसा, आत्महत्या, मानसिक बिरामी, पानीमा डुबेर ज्यान जाने क्रम, जुवा र दुर्व्यसनको लतले निम्त्याउने आदि इत्यादि समस्याको समाधान वा रोकथामका लागि कहाँ गुहार्ने?, कुन कुन निकायको सहयोगमा समस्याको न्युनीकरण वा समाधान कसरी गर्ने? र नेपाली समाजलाई सभ्य र सुरक्षित राख्न के गर्ने? भन्ने चिन्ताले यहाँका नेपालीहरू पिरोलिने गर्छन्।

नेपाली दूतावास, एन आर एन र वाणिज्य दूतावासहरूमा प्राप्त हुने गुनासो र समस्याको पेटारो उत्तिकै छ। त्यसैले यतिखेर यी यावत समस्या समाधानको पहल गर्न नेपालीको बढ्दो जनसंख्यासँगै नेपाली समुदाय दूतावास र नियोग अनि एनआरएन माथि चर्को दबाब परेको छ।

 के अष्ट्रेलिया यस्तै हो त?

अष्ट्रेलिया बहुसाँस्कृतिक हिसाबले संसारकै गतिशील र अवसर प्राप्त गर्न सकिने देश हो।  गएको दशकअघि नेपालीहरूलाई अष्ट्रेलिया आउने कारण र यसको ग्ल्यामर त्यति थिएन। यद्यपी, यो देशमा नेपालीहरू प्रवेश गरेको सन् १९७० यता देखि नै हो।

सुरूआतमा सरकारी र विभिन्न कार्यक्रममा आउनेहरूले अष्ट्रेलिया देखेका थिए। पछिल्ला दिनहरूमा आप्रवासी नीतिमा आएको बदलाव र सीप छनोटका क्षेत्रहरूको संख्यामा गरिएको परिमार्जनका कारण सबै विद्यार्थीले पढे अनुसारको सीप छनोट गर्न गाह्रो हुने भएर माग अनुसारका क्षेत्रमा योग्यता हासिल गर्ने बाध्यता सिर्जना हुँदा नेपालमा आफूले रोजेको विषय पढ्न नपाउने अवस्था सिर्जना हुनुले अलिकति अप्ठ्यारो महशुस गरेका नेपालीहरू ढिलो चाँडो केही न केही उपाय लगाउन माहिर भइसकेका छन्।

विश्वविद्यालयस्तरका योग्यता लिन अष्ट्रेलिया आउन सक्ने र कम्तिमा राम्रो अंक ल्याएका नेपाली युवायुवतीले नेपालमै वा नजिकको छिमेकी मुलुकका राम्रा शिक्षण संस्थाहरूबाट प्रारम्भिक योग्यता हासिल गर्न सक्ने वातावरण, अलिकति परिपक्व भएपछि वा मिलेसम्म स–परिवार आउनसक्ने हुने हो भने यहाँ हुने संघर्ष आधै घट्ने थियो।

यहाँका वैज्ञानिक एवम एकेडेमिक निकायमा काम गर्नेहरू पनि थुप्रै भइसके। नर्स, इन्जिनियर र हस्पिटालिटी क्षेत्रमा काम गर्ने पनि निक्कै धेरै भइसके। माइग्रेसन तथा शैक्षिक परामर्शदाता, प्राइभेट कलेज, ग्रोसरिज, रेस्टुरेन्ट,फ्रेन्चाइज र अन्य बहुआयामिक स्टोर सञ्चालन गर्ने पनि उत्तिकै भएको देश अष्ट्रेलियामा खुशीको जिन्दगी बिताउने नेपाली थुप्रै भएकाले पनि यो देश अवसर र चुनौतीका बीच थुप्रै नेपालीको कर्मभूमि बन्न पुगेको छ।

राजनीतिक जोड घटाउका नेपाली र अष्ट्रेलियाली संस्करण हेर्न नेपालका विभिन्न पार्टीका भातृ संगठनदेखि अष्ट्रेलियाका ठूला राजनीतिक दलका सदस्यता लिएर नेपाली राजनीतिको स्वाद विर्सन खोज्ने पनि थुप्रै भेटिन्छन्। तर पृथ्वीको एउटा छेउ भएर पनि नेपाल र नेपालीको लागि टाढाको दुनियाँ रहेन, अष्ट्रेलिया।

रचनात्मक र सकारात्मक पहलको खाँचो

अनेकौं समस्या यथावत हुँदाहुँदै पनि नेपाल सरकारले अष्ट्रेलिया आउने विद्यार्थीहरूको बसोबासलाई व्यवस्थित गर्न अष्ट्रेलिया सरकार र नेपाली समुदायसँग हातेमालो गर्दै बढ्दो चुनौतीलाई सामना गर्ने संयन्त्र निर्माण गर्न अब चाहिँ ढिला गर्न हुँदैन।

नेपालबाट विद्यार्थी नआए पनि हामीलाई केही फरक पर्दैन भन्ने अवस्थामा यहाँको सरकार यतिखेर छैन भने, यहाँ बस्ने नेपालीको समस्या अष्ट्रेलियाली समाजको पनि समस्या बन्न पुगेको छ। त्यसैले, अष्ट्रेलिया आउने विद्यार्थीलाई नो अब्जेक्सन लेटर दिने शिक्षा मन्त्रालयले हरेक नेपाली विद्यार्थीको प्रारम्भिक जानकारी यहाँको दूतावासमा उपलब्ध गराउने, अष्ट्रेलियामा सुरूका दिनमा पर्न सक्ने अप्ठ्यारा र चुनौतीबारे औपचारिक जानकारी दिने, सम्पर्क र सूचना केन्द्र स्थापना गर्दै विदेश जाने विद्यार्थीलाई एउटा संयन्त्रमा आवद्ध गर्ने कामको सुरूवात गर्ने बेला अब भएको छ।

नेपाली विद्यार्थीको च्यानलबाट वर्षको सबा खर्ब भित्र्याउने अष्ट्रेलिया र अनेकौं अवसर प्राप्त गर्न सक्ने सम्भावना बोकेको देश नेपालले अब सरकारीस्तरमा गएको वर्ष यहाँको विदेश तथा व्यापार विभाग र नेपालको परराष्ट्र मन्त्रालयबीच भएको ‘दुई देशीय संयन्त्र र समझदारीपत्र’को मर्म बमोजिम आपसी हितका विषयलाई पहिचान गरि दुबै देशको कल्याणमा काम गर्ने बेला भएको छ।

दुवै देशबाट राजनीतिक तवरमा भेटघाट तीव्र पार्दै नियमित सक्रिय कुटनीतिक तथा राजनीतिक तहमा योजना बनाएर काम सुरू गर्ने पनि अहिले नै हो। नेपाल र अष्ट्रेलिया दुबैतर्फ खुलेका परामर्शदाता र माइग्रेसन तथा एडुकेसन व्यवसायीको व्यापक ठूलो सञ्जाल सक्रिय रहेका बेला विद्यार्थीलाई समस्या पर्दा सघाउन सकिने ठूलो कोषको निर्माण गर्न र त्यसलाई गैर आवासीय नेपाली संघ र कुटनीतिक नियोगहरूबीच सक्रिय संयन्त्र वा कार्यदल बनाएर समस्याको पहिचान र कल्याणका काममा सक्रियता बढाउने वातावरण बनाउन अहिले केही कुराले रोके जस्तो लाग्दैन। यसो हुन सके बेला बेलामा विद्यार्थीहरूलाई शोषण गरियो, ठगियो वा बेवास्ता गरियो भनेर लाग्ने आरोपबाट पनि मुक्त हुने अवसर धेरैलाई मिल्नेछ। त्यसमाथि प्रोफेसनल एथिक्स मिचेर सोझा साझालाई झुक्याउनेहरूमाथि कार्वाहीको दायरामा ल्याउन दुबै देशका संयन्त्रलाई सजग गराउन,सरल र जिम्मेवार व्यवसायी भएर काम गर्न बाँकी सबैलाई प्रेरणा पनि मिल्ने भयो।

अन्त्यमा,    

अष्ट्रेलियाका भोकेसनल इन्स्टिच्युटबाट प्राप्त हुने सीप र तालिम नेपालमा दिलाउन सकिने, थप र बाँकी अध्ययनका लागि अष्ट्रेलिया आउन पनि सकिने,अष्ट्रेलियाली विश्वविद्यालयको शिक्षा नेपालमा विस्तार गर्न सकिने, अध्ययन अनुसन्धानका लागि ठूला ठूला स्केलमा आपसी हितका परियोजना सञ्चालन गर्ने, नेपालीलाई दिइँदै आएको उच्च अध्ययन र अनुसन्धानको कोटा बढाउने र नेपालमा सुशासन, पर्यटन, सेवा र प्रविधिको विकासमा अष्ट्रेलियाली लगानी र सहायता बढाउँदै दुबैतर्फका प्रोफेसनलले काम गर्न मिल्ने वातावरण बनाउन सकिने खाका बनाउन अब विज्ञहरू समेत सक्रिय हुन पर्ने भएको छ।

नेपालीको आयातन र योगदानको स्तर वृद्धिसँगै काठमाडौंस्थित दूतावासबाटै अष्ट्रेलिया आउने नेपालीका भिषाको काम लगायत, विकासका समझदारीहरू कार्यान्वयन गर्न गराउन र सबै खाले समस्या र चुनौतीलाई थेग्न सक्ने क्षमता विकासको पहल गर्न अनिवार्य भएको छ।

एक्काइसौं शताब्दीको जमानामा संसारको जुनसुकै कुनामा बसेर पनि आफ्नो जन्मभूमि र कर्मभूमिबीचको पुलको काम गर्न सक्ने विद्यार्थीको भविष्य निर्माणमा नेपाली र अष्ट्रेलियाली समुदाय दुबैको योगदान त उत्तिकै छ। विशेषतः आफ्नै प्रकृतिको समस्याको समाधान खोज्ने पहिलो काम नेपालीको नै हुन आउँछ। अब त्यतैतिर लाग्ने कि!

Share:

© 2017 Setopati Sanchar Pvt. Ltd.