सांसदले ४ करोडमा ५ वटा आयोजना छान्न पाउने

आर्थिक वर्ष २०७५/७६ को बजेट सार्वजनिक गर्दै अर्थमन्त्री युवराज खतिवडा। तस्वीर: नारायण महर्जन


सांसदहरुलाई सिधै पैसा दिने प्रस्तावको विरोध भएपछि सरकारले उनीहरुलाई निर्वाचन क्षेत्रमा आयोजना छान्न पाउने अधिकार दिएको छ।

मंगलबार अर्थमन्त्री यूवराज खतिवडाले पेश गरेको बजेट वक्तव्यमा  प्रत्येक सांसदले आफ्नो निर्वाचन क्षेत्रमा ४ करोड सम्म खर्च हुने गरी ५ वटा आयोजना छान्न पाउने उल्लेख छ।

बजेट भाषण सकिएपछि संसदबाट बाहिरिने क्रममा प्रधानमन्त्री केपी शर्मा ओलीले दुरुपयोग नहुने व्यवस्था मिलाएर सांसदहरुलाई ४ करोडसम्मका आयोजना छान्ने अधिकार दिइएको बताए।

संघ, प्रदेश र स्थानीय तहको समन्वय र सहजीकरणमा कार्यान्वयन हुने गरी यो बजेट निकासा हुने बजेटमा उल्लेख छ। स्थानीय विकास पूर्वाधार साझेदारी कार्यक्रमको नाम दिएर ४ करोड दिइने छ। संघीय संसदको निर्वाचन क्षेत्रभित्र पर्ने प्रदेश सांसद र स्थानीय तहका प्रमुखहरु रहने एउटा समिति हुने छ। जसमा संघीय संसद संयोजक रहने भनिएको छ।

सांसदहरु भने निर्वाचन क्षेत्र पूर्वाधार विकास कार्यक्रमको बजेट १० करोड पुर्‍याउनुपर्ने लबिङमा लागेका थिए।  निर्वाचन क्षेत्र पूर्वाधार विकास कार्यक्रमको नाममा प्रत्यक्ष निर्वाचित २ सय ४० क्षेत्रका सांसदलाई सरकारले  गत वर्ष ३ करोड रकम दिएको थियो। नयाँ संविधान अनुसार यसपटक निर्वाचन क्षेत्र भने २ सय ४० बाट घटेर १ सय ६५ मा झरेको छ।

Share:

© 2017 Setopati Sanchar Pvt. Ltd.