काठमाडौंको बीचमा दुई विशाल पार्क

एयरपोर्टस्थित गल्फ मैदान। तस्बिरः नारायण महर्जन/सेतोपाटी


दक्षिण एसियाका सबै राजधानीमा सार्वजनिक पार्क छन्। थप पार्क र हरियाली विस्तार गर्ने काम जारी छ।

भारतको राजधानी नयाँ दिल्लीमा त सानाठूला गरी २१ वटा पार्क छन्। नेहरु पार्क, लोधी गार्डेन, बुद्ध जयन्ती पार्क, सेन्ट्रल पार्क, मुगल गार्डेन, जापानिज पार्क, नेसनल रोज गार्डेन यहाँका आकर्षक पार्कमध्ये हुन्।

दिल्लीमा नयाँ पार्क थप्ने र पुराना पार्क पुनर्स्थापना गर्ने अभियान पनि जारी छ। करिब दुई महिनाअघि मात्र १६ अौं शताब्दीको मुगल गार्डेनमा रहेको बगैंचा र मुगलकालीन संरचनाहरु पुनर्स्थापना गरिएका छन्।

छत्तीस हेक्टरमा फैलिएको मुगल गार्डेन खुला भएको दिन भारतको एक दैनिक पत्रिकाले खुसी हुँदैं लेख्यो— ‘न्युयोर्कको म्यानह्याटनमा रहेको सेन्ट्रल पार्कजस्तै दिल्लीको आफ्नै सेन्ट्रल पार्क।’

बंगलादेशको राजधानी ढाकाको मुटुमै २७ हेक्टरको राम्ना पार्क छ। यहाँ ७१ प्रजातिका फूल, ३६ प्रजातिका फलफूलका रुख र ४१ प्रजातिका रुख छन्।

ढाकाकै मिरपुरमा राम्ना पार्कभन्दा तीन गुणा ठूलो ८४ हेक्टरमा फैलिएको बोटानिकल गार्डेन छ। ढाकाको चिडियाखानासँगै रहेको यो विशाल गार्डेन बंगलादेशकै सबैभन्दा ठूलो बोटबिरुवा संरक्षित क्षेत्र हो। गर्मी मौसममा ढाकालाई यही गार्डेनले त्राण दिन्छ। यी दुईबाहेक ढाकामा सानाठूला आधी दर्जन पार्क छन्।

पाकिस्तानको राजधानी इस्लामाबादमा त झनै तीन सय हेक्टरमा फैलिएको फतिमा जिन्हा पार्क छ। यो पाकिस्तानका संस्थापक मोहम्मद अलि जिन्हाकी बहिनीका नाममा बनाइएको हो। पार्कको दुई हेक्टर क्षेत्रमा सोलार प्यानल जडेर राति उज्यालो पार्ने गरिन्छ।

इस्लामाबादको उत्तरी भागमा अर्को पार्क पनि छ— शकरपारियन हिल्स। यो जापान सरकारको सहयोगमा बालबलिकाका लागि भनेर निर्माण गरिएको हो।

श्रीलंकाको राजधानी कोलम्बोमा पनि भिक्टोरिया पार्क छ। यो पार्कले केही समयअघि नयाँ नाम पाएको छ— रानी बिहारामहादेवी पार्क। पार्कभित्रै सानो चिडियाखाना छ, नानीहरु खेल्ने छुट्टै पार्क छ। त्यहाँभित्रका वाटर फाउन्टेनले यसको सुन्दरता थपेका छन्।

जनसंख्या र क्षेत्रफल दुवैका आधारमा भुटान र मालदिभ्स दक्षिण एसियाका दुई साना मुलुक हुन्। यी दुवै मुलुकका राजधानी थिम्पु र मालेमा सानै आकारका भए पनि सार्वजनिक पार्क छन्। त्यहाँ मानिस टहल्छन्, नानीहरु खेल्छन्।

काठमाडौंको भित्री सहरमा भने केवल एउटा रत्नपार्क छ। हामी सबैलाई थाहा छ— त्यो पार्क कम, बस स्ट्यान्ड धेरै हो। हाम्रा परिवार वा साथीभाइ कसैले ‘म रत्नपार्क जाँदैछु’ भन्यो भने हामी पार्क जाँदैरैछ भन्ने बुझ्दैनौं। काठमाडौंको भित्री सहरमा उल्लेख गर्न लायक पार्क नै छैनन्।

यसरी दक्षिण एसियामै पार्क र हरियालीविहीन एकमात्र राजधानी बनेको छ काठमाडौं। जबकि भू-बनोट, मौसम, बोटबिरुवाको विविधता र सांस्कृतिक सम्पन्नताका हिसाबले काठमाडौं दक्षिण एसियाकै सुन्दर सहर हो।

मेरा एक अमेरिकी प्राध्यापकका शब्दमा, प्रकृतिले बनाएको अतिसुन्दर र मानिसले बिगारेको कुरुप सहर हो, काठमाडौं।

काठमाडौं एक दिनमा बिग्रेर यस्तो भएको हैन। यसको लामो सिलसिला छ। अहिलेको कुरुप अवस्थाबाट निस्किएर फेरि सुन्दर सहर बन्न काठमाडौंलाई धेरै समय लाग्नेछ। सम्भव भने छ। संसारका धेरै सहरको इतिहासले त्यही भन्छ। सहरहरु बिग्रिन्छन्, कुरुप बन्छन्, अनि फेरि सुन्दर बन्छन्।

सहरहरु आफैं बौरिएर सुन्दर बन्ने होइनन्। किनकि, तिनीहरु आफैं कुरुप बनेका हुँदैनन्। मानिसले बिगारेर कुरुप बनाएको सहरलाई पुनर्जीवन दिन मानवीय प्रयास जरुरी छ। राजधानीवासी नागरिकको अठोट जरुरी छ।

काठमाडौंको सुन्दरता पुनर्स्थापना गर्न र यसलाई बस्नलायक सहर बनाउन पहिलो चरणमा तीन काम आवश्यक छन्— काठमाडौंका खोलानाला पुनर्स्थापना, सफाई र हरियाली अभियान, र थुप्रै सानाठूला सार्वजनिक पार्क निर्माण। खुसीको कुरा, यी सबै काम हाम्रै बुताले गर्न सम्भव छ।

यो लेख दुई विशाल पार्क निर्माणमा केन्द्रित छ।

मेरा सहकर्मी सुदीप श्रेष्ठले केही महिनाअघि टुँडिखेल पुनर्स्थापना गरेर पार्क बनाउने विषयमा लामो स्टोरी लेखे। टुँडिखेल कसरी आममानिसको सार्वजनिक सम्पत्ति थियो, त्यो कसरी काठमाडौं संस्कृतिको अभिन्न अंग थियो, र किन टुँडिखेललाई समेटेर हरियाली भरिएको पार्क बनाउनुपर्छ भन्ने जीवन्त बयान छ त्यो स्टोरीमा।

सुदीपको त्यो स्टोरीले काठमाडौंका धेरै आमनागरिकलाई उत्साही बनायो। निस्सासिने काठमाडौंको मुटुमा जंगलसहितको शीतल पार्क बनाउने कुराले किन उत्साही नबनाओस्!

यो पनि पढ्नुहोस्

मध्यसहरमा आर्मी हेडक्वार्टर किन?

सरकार र ब्युरोक्रेसीमा बसेका धेरैले भने ओठ लेप्राए — कहाँ सेनालाई हटाएर टुँडिखेलमा पार्क बनाउन सकिन्छ? सेनाले कहाँ मान्छ?

धेरैको प्रतिक्रिया यतिमै सकियो।

काठमाडौंको मुटुमा विशाल पार्क निर्माण गर्ने जस्तो सार्वजनिक हितको विषय ‘सेनाले के भन्छ’ वा ‘मान्दैन होला’ भन्ने साँघुरो अड्कलबाजीका कारण सेलाउनु हुँदैन थियो। अब पनि सेलाउनु हुँदैन।

सबैभन्दा पहिले टुँडिखेल लगायत क्षेत्र समेटेर बन्ने विशाल पार्कको आवश्यकता, पर्यावरणीय महत्व, पार्क र हरियालीसँग मानिसको सम्बन्ध र यसको साँस्कृतिक तथा पर्यटकीय आयामबारे कुरा गरौं।

त्यसपछि त्यस्तो पार्क चाहिन्छ वा चाहिन्न, सेनाले मान्छ वा मान्दैन भन्ने कुरा गरौंला। मानेन भने के गर्ने भन्ने कुरा गरौंला। के थाहा, पार्कको बहुआयामिक महत्व बुझेपछि सेनाले नै अग्रसरता लिन्छ कि?

पार्क संसारभर सहरका अभिन्न अंग बन्न थालेका छन्। नयाँ पार्क बनाउने, पुराना पार्क पुनर्स्थापना र विस्तार गर्ने अभियान चलेको छ। कुनै पनि सहरको पर्यावरण, त्यहाँका मानिसको शारीरिक तथा मानसिक स्वास्थ्य, त्यो सहरको शोभा र सभ्यतासँग पार्क जोडिन थालेको छ।

अमेरिकाका कैयन सानाठूला सहरले दस मिनेटको हिँडाइमै सहरवासीले पार्क भेट्टाउनुपर्छ भन्ने मान्यता अघि बढाएका छन्। सन् २०१७ अक्टोबरमा हजार जना अमेरिकी मेयरको सम्मेलनले ‘१०-मिनेटको हिँडाइमा पार्क’ भन्ने प्रस्ताव एकमतले पारित गर्यो। कैयन मेयरले यसका लागि काम सुरु गरिसकेका छन्।

सहरको कोलाहलबीच मानिसका आँखा र मन शीतल र शान्त पार्न मात्र पार्क चाहिने होइन। पार्कको महत्व त्योभन्दा बहुआयामिक र गहिरो छ। फेरि पार्क भनेको मुलुक धनी भएपछि मात्र बनाउने पनि होइन। किनभने, पार्क विलासी कुरा हैन, सहरको न्यूनतम आवश्यकता हो। धनीभन्दा न्यून आय भएका मानिसलाई झनै चाहिने कुरा हो।

सहरी बासिन्दाको मानसिक तथा शारीरिक स्वास्थ्यमा पार्क र हरियालीले पार्ने सकारात्मक प्रभावबारे पछिल्ला वर्ष धेरै अध्ययन, अनुसन्धान भएका छन्।

कुनै बेला उत्तरमा रानीपोखरी र दक्षिणमा दशरथ रंगशाला भएको ठाउँसम्म फैलिएको टुँडिखेल अहिले जम्मा यति हिस्सा बचेको छ। यो टुँडिखेलको लगभग एकचौथाइ हो। यसको दायाँ भाग मिचेर सेनाले हेडक्वार्टर बनाएको छ भने बायाँ भागमा सैनिक मञ्च छ। तस्बिर: नारायण महर्जन/सेतोपाटी

अमेरिकाको साइन्स जर्नलमा प्रकाशित एउटा अनुसन्धान चकित पार्ने खालको छ। अनुसन्धानकर्ताहरुले पेन्सलभेनिया अस्पतालमा अपरेसन गरेर दुई फरक खालका कोठामा राखिएका बिरामीको अध्ययन गरे। एकखाले कोठाका झ्यालबाट रुखहरु देखिन्थे। अर्काखाले कोठाबाट इँटाका भित्ता। ती दुई कोठामा बसेका बिरामीको दस वर्षको मेडिकल रिपोर्टको अध्ययनले गज्जबको कुरा देखायो।

रुख देखिने कोठामा बसेका बिरामी इँटाको भित्ता देखिने कोठामा बसेका बिरामीभन्दा अपरेसनपछि छिट्टै घर फर्किए। अस्पतालमा बस्दा थोरै ‘पेनकिलर’ प्रयोग गरे। उनीहरुले नर्ससँग थोरै मात्र नकारात्मक टिप्पणी गरे।

सन् २००१ मा नेदरल्यान्डमा गरिएको अर्को अध्ययनले पार्क, हरियाली र मानिसको स्वास्थ्य सम्बन्धबारे थप रहस्य खोलेको छ। यो अध्ययनले १० हजार डच नागरिकको स्वास्थ्य र उनीहरु बस्ने ठाउँबीच कस्तो सम्बन्ध छ भन्ने हेरेको थियो।

अध्ययनले के देखायो भने, हरियाली कम भएकोभन्दा धेरै भएको क्षेत्रमा बसोबास गर्ने मानिसका स्वास्थ्य समस्या थोरै थिए। उनीहरुले आफ्नो शारीरिक तथा मानसिक स्वास्थ्य राम्रो भएको बताए। पार्क होस् वा जंगल वा खेतीपाती गरिएका क्षेत्र- यी सबैखाले हरियालीले मानव स्वास्थ्यमा उस्तै सकारात्मक प्रभाव पार्ने उक्त अध्ययनले देखायो।

अध्ययनको निष्कर्ष छ— बसोबास स्थल वरिपरि १० प्रतिशत मात्र हरियाली बढायो भने पनि मानिसको आयु पाँच वर्ष थपिने गरी स्वास्थ्य समस्या घट्छन्।

मानिसको स्वास्थ्य र जीवनसँग पार्क, हरियाली र रुखबिरुवाको यति गहिरो सम्बन्ध हुनुको खास कारण छ।

मानिस लाखौं वर्षदेखि प्रकृतिसँगको तादात्म्यमा हुर्किएको प्राणी हो। करिब दुई लाख वर्षअघि आधुनिक मानव जातिको उत्पत्तिपछिका हजारौं वर्ष जंगली जनावरले मानिसको शिकार गरे। मानिसले विस्तारै समूह बनाएर प्रतिरोध गर्न सिक्यो। पछि ढुंगाका हतियार बनाउन सिक्यो। त्यसपछिका हजारौं वर्ष मानव जातिले जनावर शिकार गरेर जंगलमै बितायो।

करिब १२ हजार वर्षअघि मात्र कृषि युग सुरु भएको हो। त्यसपछि मानिस कम चलायमान हुन थाल्यो। एकैठाउँ बसेर कृषि उत्पादन गर्नेतिर लाग्यो। हावा, पानी, माटो, रुखबिरुवासँग उसको संसर्ग कृषि युगमा झनै कसिलो बन्यो।

माटोको बासना, बग्ने ताजा पानीको बासना, रुखबिरुवाको बासना र ती रूखबिरुवामा ठोक्किएर आएको हावाको बासना तथा शरीरमा ठोक्किने पारिलो घामको स्पर्शसँगै मानव शरीर विकसित हुँदै, परिवर्तन हुँदै आएको हो।

सहरिया जीवनले प्रकृतिसँगको त्यो सम्बन्ध एक्कासि चुँडालेको छ। हजारौं हजार वर्षदेखि माटो र रुखबिरुवाको संसर्गमा हुर्किएको मानव ‘जिन’ हाम्रा पुर्खा, आमा-बामार्फत् स्थानान्तरण हुँदै हाम्रो शरीरसम्म आइपुगेको छ।

सहरमा बस्ने हाम्रो शरीरको रुखबिरुवासँग सम्पर्क टुटेको छ। माटोको गन्ध सुँघ्न पाउँदैन। न बग्ने पानीको आवाज सुनेको छ, न त्यस्तो ताजा पानीको बासना नै थाहा छ। सहरिया शरीरले न त पुग्ने गरी हावाको स्पर्श लिन्छ, न घामको। नेपालीका सन्दर्भमा यी सबै परिवर्तन पछिल्ला ५० वर्षमा भएका छन्। मानव जातिको लामो इतिहासमा ५० वर्ष एकदमै छोटो समय हो।

सहरिया शरीरले अर्को पनि बदमासी गरेको छ— यो चलायमान हुन पटक्कै छाडेको छ। दुई लाख वर्षदेखि चलायमान मानव जातिको ‘जिन’ आफूभित्र बोकेको यो शरीर झन् झन् नहिँड्ने र थचारिएर बस्ने भएको छ। यसले हाम्रो शरीरभित्रको ‘जिन’ बडो रनभुल्लमा छ। एक किसिमको तनावमा छ। हजारौं वर्षसम्म प्रकृतिमा चलायमान शरीरभित्र हुर्किएको त्यो ‘जिन’ ले सिमेन्टका चार घेराभित्र घ्याच्च परेर बसिरहने सहरीया जीवनशैली चिन्न सकेको छैन। जुन रफ्तारमा हाम्रो जीवनशैली बदलिएको छ, हाम्रो ‘जिन’ ले त्यो बुझ्न र त्यहीअनुसार आफूलाई ढाल्न सकेको छैन।

यसले शरीरमा रोग संक्रमण बढेको छ। हिजो फरक जीवनशैलीमा नदेखिएका रोग आज देखिएका छन्। हिजो फरक जीवनशैलीमा खुसी मान्छेको मन आज हरबखत तनावले भरिएको छ।

प्रकृति र माटोसँग मानिस जसरी ‘अचानक’ छुट्टिएको छ, सायद त्यसको पीडा मानिसको चेतन, अवचेतनमा थुप्रिएर बसेको छ। मानिसको अवचेतनले रुखबिरुवा र माटो ‘मिस’ गरिरहेको छ। त्यसैले बिरामी पर्दा अस्पताल बसेको मान्छे झ्यालबाहिर रुख देख्दा चाँडै तङ्ग्रिन्छ। प्रकृतिमाझ पुग्दा फुरुंग हुन्छ।

हामी सहरका मानिसलाई जंगलमा स्थानान्तरण गर्न सक्दैनौं। न त सहरलाई जंगलमा बदल्न सक्छौं। तर, सहरमा रुख रोप्न सक्छौं, हरियाली बढाउन सक्छौं। खाली ठाउँ खोजेर र ठाउँ खाली गरेर सानाठूला पार्क बनाउन सक्छौं। ती पार्कमा एकैछिन हिँडेर, डुलेर मानिसले तनाव कम गर्न सक्छन्। रमाउन सक्छन्। खुसी हुन सक्छन्।

अनुसन्धानकर्ताहरुले फिनल्यान्डको राजधानी हेलसिन्कीमा सहरका पार्क र सहरभित्रका जंगलले मानिसको स्वास्थ्य र ‘मुड’ मा कस्तो असर पार्छ भनेर अनुसन्धान गरेका छन्। यस्ता जंगल र पार्कमा केवल दस मिनेट हिँडाइले मानिसको तनाव कम गर्ने अनुसन्धानले देखाएको छ। यस्ता ठाउँमा दस मिनेट हिँडाइले पनि तनाव कम गर्ने हर्मोन सक्रिय पार्न सक्छ।

रुखबिरुवाले हाम्रो मुड मात्र सफा गर्दैनन्, कथित सहरीया आधुनिक जीवनले उत्पादन गर्ने प्रदूषण पनि नियन्त्रण गर्छन्।

रुखबिरुवाले वातावरणमा फाल्ने कार्बनडाइअक्साइड सोस्छन्। अक्सिजन मानिसलाई सास फेर्न हावामा छाडिदिन्छन्।

‘द अमेरिकन फरेस्ट सर्भिस’ को एक अध्ययनअनुसार ५० वर्ष लामो आयु भएको एउटा रुखले उसको जीवनभरमा ३१ हजार डलर मूल्य बराबर अक्सिजन उत्पादन गर्छ, ६२ हजार डलर मूल्य बराबर प्रदूषण नियन्त्रण गर्छ र ३७ हजार डलर बराबर पानी रिचार्ज गर्छ। रुखका पात र जराले पानीमा मिसिएको प्रदूषण फिल्टर गरेर मात्र जमिनमा पठाउँछन्। पानी प्रदूषण गर्ने नाइट्रोजन, पोटासियम र फोस्फरस छान्छन्।

गर्मीमा सहरको तापक्रम घटाउन पनि रुखले काम गर्छन्। एउटा ठूलो रूखबाट हुने वाष्पीकरणले कोठामा राख्ने दसवटा एयर कण्डिसनले २४ घन्टामा फाल्नेजत्तिकै चिसो निकाल्ने अनुसन्धानकर्ताहरुको दाबी छ।

प्रकृतिले रूखबिरुवालाई मानिसको हितमा काम गर्ने कस्तो अजीव गुण र कस्तो तागत दिएको होला!

धन्न रूखले हामीसँग यी सबै ‘सेवा’ बापत् पैसा माग्दैनन्, नत्र मानव जाति उहिल्यै टाट पल्टिसक्थ्यो।

यति गुणकारी रुखलाई हामीले हेला गरेका छौं। काठमाडौंमा रुख रोपेका छैनौं। सहरमा हरियाली छैन। सरसफाइ छैन। पार्कको यति धेरै फाइदा छ, तर हामीले पार्क निर्माणमा चासो देखाएका छैनौं। अाजका दिनमा काठमाडौंका लागि सबैभन्दा ठूलो विकास नै पार्क र हरियाली हो।

अब हाम्रो चेत बदलिनुपर्छ। विकासका हाम्रा प्राथमिकता बदलिनुपर्छ।

काठमाडौंमा पार्क छैन, तर बनाउन सकिन्छ।

काठमाडौं हामीले धेरै बिगारेको भए पनि केही बाँकी छन्। तिनै ‘बाँकी’ समातेर काठमाडौंको सुन्दरता र सभ्यता पुनर्स्थापनाको काम सुरु गर्नुपर्छ।

तिनै बाँकीमध्ये हो, टुँडिखेल र टुँडिखेलसँग जोडिएर उत्तर-दक्षिण फैलिएको विशाल क्षेत्र, जुन  सार्वजनिक प्रयोगमा ल्याउन सकिन्छ।

हालको टुँडिखेल। तस्बिरः नारायण महर्जन/सेतोपाटी

दशरथ रंगशालादेखि उत्तर सहिद गेटसम्मको भाग अहिले नेपाली सेनाको नियन्त्रणमा छ। त्यो जग्गा सेनाको भने होइन। विभिन्न कालखण्डमा सेनाको नियन्त्रणमा पुगेको मात्र हो।

यो जग्गाको बहुसंख्यक भाग अहिले पनि खाली नै छ। त्यहाँ सेनाले बनाएको ‘पार्टी प्यालेस’ छ, त्यसमाथि केही कार्यालय छन्। पार्टी प्यालेस उत्तर र सहिद गेट दक्षिणपट्टि सेनालाई खेल्न सानो प्याराफिट र ट्रयाक बनाएको छ। पार्टी प्यालेस छिर्ने पश्चिमपट्टिको गेटनजिकै सेनाका लागि पुस्तकालय बनाइएको छ।

नेपाली सेनाको मुख्यालयलाई काठमाडौंको मुटुबाट झिकेर सबै क्षेत्र समेट्ने पार्क बनाउन पाए गज्जब हुने थियो।

अहिलेलाई भने नेपाली सेना र हामी नागरिकले सानो सम्झौता गरे हुन्छ। पार्क बनाउन सेनाको मुख्यालय रहेको भद्रकालीको पुरानो भवन अहिले नहटाउने। सैनिक मुख्यालयका लागि त्यहाँ बन्दै गरेका नयाँ भवन पनि कायमै राख्ने। रंगशाला र सहिदगेट बीचको भागमा रहेका पार्टी प्यालेस, प्याराफिट, पुस्तकालय लगायत संरचना भने हटाउने।

भद्रकालीमा नयाँ भवन तयार भइसकेपछि नेपाली सेनालाई कार्यालय प्रयोजनका लागि चाहिने भवन पुग्छन्। माइतीघरदेखि भद्रकालीसम्म फैलिएको जग्गा सैनिक मुख्यालयका लागि मनग्गे हुन्छ। थप कामका लागि सेनासँग काठमाडौं सहरभित्रै छाउनी लगायत ठाउँमा प्रशस्त जग्गा छँदैछ।

रंगशालादेखि उत्तर सहिद गेटसम्मको सबै क्षेत्र, जुन पहिले टुँडिखेलकै भाग थियो, त्यसलाई फेरि टुँडिखेलकै अधिनमा फर्काउनुपर्छ। किनभने, त्यो आमनागरिकको नासो हो। यो भाग टुँडिखेलमा जोडिसकेपछि उत्तरको रत्नपार्क र रानीपोखरीसम्म जोड्न कुनै मुश्किल छैन।

काठमाडौंको बीचमा बन्ने ‘सेन्ट्रल पार्क’ त्यतिले मात्र पुग्दैन। त्यतिमा मात्र यसलाई खुम्च्याउनु हुन्न।

रानीपोखरीलाई त्रिचन्द्र कलेज, दरबारमार्ग हुँदै नारायणहिटी दरबार क्षेत्रसँग जोड्न सकिन्छ। रानीपोखरीसँगै रहेको प्रहरीको भवन हटाउने, त्रिचन्द्र कलेजका सबै पर्खाल फोड्ने र दरबारमार्गमा सवारी निषेधित गर्ने हो भने काठमाडौंको मुटुमा दशरथ रंगशालादेखि नारायणहिटी दरबार क्षेत्र पूरै समेटिएको विशाल पार्क बनाउन सकिन्छ।

यो पार्कलाई काठमाडौं र मुलुककै साँस्कृतिक विविधतासँग जोड्ने र पर्यटन प्रवर्द्धन गर्ने हो भने साँच्चिकै संसारकै नमूना पार्कमध्ये पर्नेछ।

यसको निम्ति त्रिपुरेश्वर चोकदेखि रानीपोखरीको पश्चिम-उत्तर कुना भोटाहिटीसम्मको सडकलाई सवारी निषेध गरेर पार्कको अंग बनाउने। यहाँ सडकमुनि गाडी कुद्न कलंकीको जस्तै ‘अन्डरपास’ वा त्यस्तै कुनै संरचना बनाउने।

अर्कातिर, भद्रकाली मन्दिरदेखि नारायणहिटी म्युजियम गेटसम्मको सडक पनि सवारी निषेध गरेर गाडी कुद्न अन्डरपास बनाउने। त्यस्तै अन्डरपास सहिदगेटको सडक र रानीपोखरी-रत्नपार्क बीचको सडकमा पनि बनाउने।

टुँडिखेल दुवैतिरका सडक अन्डरपास बनाउन हामीले धान्नै नस्कने गरी पैसा लाग्ने होइन। सहरमा जनसंख्या बढ्दै गएपछि संसारका सबै ठूला सहरले जमिनमुनि दगुर्ने सयौं किलोमिटर लामो मेट्रो रेल बनाउँछन्। काठमाडौंको सवारी धान्न पनि हामीले ढिलोचाँडो मेट्रोको व्यवस्था गर्नैपर्छ। टुँडिखेल वरिपरि मुश्किलले ४-५ किलोमिटर सडक अन्डरग्राउन्ड गर्न नसक्ने हो भने हामीले मेट्रो कसरी कुदाउने ? नागढुंगा-धुलिखेल जोड्ने मेट्रो कसरी बनाउने? काठमाडौं-वीरगन्ज, काठमाडौं-केरुङ जोड्ने रेल कसरी चलाउने?

विशाल टुँडिखेल पार्क निर्माण र यसको दुवैतिरका सडक सवारीमुक्त हुनैबित्तिकै राजधानीवासीको आत्मविश्वास र उत्साह थपिने छ। काठमाडौंलाई सास फेर्ने विशाल फोक्सो थपिनेछ।

एकैछिन् कल्पना गर्नुहोस् त— रंगशाला उत्तरदेखि सहिदगेट, टुँडिखेल, रत्नपार्क, रानीपोखरी, त्रिचन्द्र कलेज, दरबारमार्ग हुँदै नारायणहिटीसम्मको खुल्ला र पर्खालरहित पार्क। पार्कभित्र बाक्ला रूखबिरुवा, फूलवारी, चराचुरुंगी, खुल्ला मैदान र रानीपोखरी। पार्कको पूर्वमा भद्रकालीदेखि नारायणहिटीसम्म र पश्चिममा त्रिपुरेश्वरदेखि भोटाहिटीसम्म सवारीमुक्त खुल्ला सडक। त्यो पनि कालोपत्रे हैन, मानिस हिँड्ने, साँस्कृतिक कार्यक्रम हुने अलग भाँतिको सडक र मानिस सुसाउने चौतारा।

यो पार्कसँगै हाम्रा एेतिहासिक साँस्कृतिक सम्पदा पनि जोडिनेछन्। लगभग २२ रोपनी जग्गा समेटेर धरहरा पुनर्निर्माण हुँदैछ। यो धरहरा पार्कमै जोडिन्छ। भद्रकाली मन्दिर, सहिदगेट, घन्टाघर, नारायणहिटी म्युजियम, नारायणहिटीमा रहेका महेन्द्र मञ्जिल, राजा वीरेन्द्रको निवास श्रीसदन र निर्माणाधीन गणतन्त्रपार्क यो विशाल पार्कका अंश बन्नेछन्।

नारायणहिटी दरबारभित्र रहेको श्रीसदन। तस्बिरः नारायण महर्जन/सेतोपाटी

आजकाल संसारका कैयन ठूला पार्क कला र संस्कृति, संगीत प्रस्तुत गर्ने ठाउँका रुपमा विकसित हुन थालेका छन्। टुँडिखेल त उहिल्यै काठमाडौं संस्कृतिको अभिन्न अंग थियो। काठमाडौंका कतिपय जात्रा र त्यसपछिका भोज टुँडिखेलमै हुने गर्थे।

टुँडिखेल समेटेर बनेको विशाल पार्क र त्यो पार्कसँग जोडिने खुल्ला सडकमा नेपालको साँस्कृतिक विविधता, कला र संगीत प्रस्तुत गर्ने, प्रदर्शन गर्ने ठाउँ बनाउन सकिन्छ। मानिसले खाने, बस्ने ठाउँ बनाउन सकिन्छ। यति गरेपछि टुँडिखेल पार्क मात्र बन्ने छैन, हाम्रो संस्कृति र सभ्यताको अभिन्न अंगका रुपमा पुनर्स्थापित हुनेछ।

टुँडिखेल र दुईतिरका ठूला खुल्ला सडकमा हरेक साँझ काठमाडौं सास फेर्न, सुस्ताउन, कुरा गर्न र आफ्नो संस्कृति हेर्न निस्कने छ। र, सँगै निस्कने छन् पर्यटक, जसले नेपालको विविधता एकैठाउँ देख्नेछन्।

हाम्रो समाज साँस्कृतिक हिसाबले यति विविध र सम्पन्न छ। त्यो विविधता र सम्पन्नताका आयाम हामी नेपालीलाई नै थाहा छैन। विदेशीको कुरै छाडौं।

टुँडिखेल पार्क हामी नेपाली र विदेशीलाई पनि नेपालको हिमालदेखि तराई, पूर्वदेखि पश्चिमसम्मको साँस्कृतिक विविधता देखाउने ठाउँ बन्नेछ।काठमाडौंवासी, काठमाडौं बाहिरबाट आएका नेपाली र विदेशी पर्यटकका लागि जानैपर्ने, समय बिताउनैपर्ने ठाउँ बन्नेछ। अर्थात्, हाम्रै ‘सेन्ट्रल पार्क’ बन्नेछ!

त्यसैले, टुँडिखेल पार्क निर्माण काठमाडौंको पर्यावरण, राजधानीवासीको शारीरिक र मानसिक स्वास्थ्य, राजधानीको शोभा र सुन्दरता तथा मुलुकको संस्कृति प्रवर्द्धनसँग मात्र जोडिएको छैन, यो आफैंमा एउटा ‘गुड बिजनेस सेन्स’ को विकास परियोजना पनि हो।

यो पार्क निर्माणसँगै काठमाडौंमा एउटा गज्जबको पर्यटकीय आकर्षण थपिनेछ। यसले नेपाल अाउने पर्यटक संख्या मात्र बढ्ने छैन, उनीहरु काठमाडौं बस्ने दिन पनि लम्बिनेछ। नेपाल सधैं सुन्दर छ, तर काठमाडौं हामीले कुरुप बनाएका छौं। टुँडिखेल पार्क निर्माणपछि काठमाडौंभित्र पनि एउटा सुन्दर ठाउँ थपिनेछ।

अब, एकछिन थामिएर सोचौं— विशाल टुँडिखेल पार्क बनाउनुपर्छ कि पर्दैन?

बनाउनुपर्छ र त्यस्तो पार्क निर्माण सम्भव छ भने सेनाले मान्ने, नमान्ने कुरा गौण हो।

यति महत्वपूर्ण काम सेनाले बुझ्दैन भन्ने नसोचौं। पार्कसँग जोडिएका यति धेरै कुरा थाहा पाइसकेपछि सेनाले पनि आफ्नो विवेक प्रयोग गर्छ भन्ने सोचौं।

कदाचित् सेनाले कुरा बुझेन भने, उसलाई सम्झाउन नागरिक सरकार छ।

आज हामी फरक युगमा छौं। त्यहाँ सबैभन्दा पहिले नागरिक अाउँछन्। त्यसपछि मुलुक अाउँछ— नागरिकबिना भूगोलको के अर्थ! त्यसपछि मुलुक चलाउने नागरिक सरकार आउँछ। अनि मात्र त्यो मुलुक रक्षाका लागि नागरिक सरकारको अधीन र खटनमा रहने सेना आउँछ। लोकतन्त्रमा नागरिकका हितमा सरकारले गर्न लागेको काम ‘नाइँ’ भन्ने ठाउँ सेनालाई हुन्न।

त्यसैले, टुँडिखेल पार्क निर्माणमा सेनाको चिन्ता नगरौं। त्यस्तो पार्क निर्माणमा सरकारलाई झकझक्याउन नागारिक पहल र सक्रियता कसरी बढाउने त्यसमा चिन्तन गरौं। नागरिक अघि बढे टुँडिखेल पार्कको काम अघि बढ्छ।

यो त भयो काठमाडौंको मुटुमा बन्ने टुँडिखेल पार्कको कुरा। काठमाडौंलाई एउटा पार्कले कसरी पुग्ला? दिल्लीमा २१ वटा पार्क छन् भने काठमाडौंमा कम्तिमा दुई ठूला पार्क र अनगिन्ती स-साना पार्क त बनाउनैपर्छ।

काठमाडौंमै फरक प्रकृतिको अर्को विशाल पार्क पनि सम्भव छ, जुन झन्डै १५ सय रोपनीमा फैलिएको हुनेछ।

एकछिन कल्पना गर्नुस् त, कहाँ बनाउन सकिएला त्यस्तो पार्क?

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको मूलगेट छिर्नेबित्तिकै उत्तरपट्टि तारबारभित्र प्रशस्त हरियाली भएको, पातला रुखहरु भएको लोभलाग्दो मैदान देखिन्छ। तिलगंगाबाट एयरपोर्टतिर हिँडेर आउँदा बायाँतिर लमतन्न त्यो मैदान झनै मनमोहक देखिन्छ। त्यो मैदान र सडकबीचमा लहरै सुन्दर हरिया रुख छन्। रूख र मैदानबीच मानिस हिँड्ने बाटो छ। त्यो बाटो हिँड्दा झन्डै तीन सय रोपनीको मैदान लोभलाग्दो देखिन्छ। त्यो मैदानमा जान भने पाइन्न। मैदान फलामे जालीको बारले घेरिएको छ, बारमाथि काँडेतार छ।

एयरपोर्टस्थित गल्फ मैदान। तस्बिरः नारायण महर्जन/सेतोपाटी

काँडेतार बेरेर आममानिसलाई निषेध गर्नुपर्ने मैदान हौइन त्यो। किनभने, त्यो सार्वजनिक सम्पत्ति हो। पशुपतिनाथ मन्दिरको सम्पत्ति हो। अहिले त्यसको उपभोग रोयल नेपाल गल्फ कोर्सले गर्छ। गल्फ कोर्सका तीन सय सदस्य छन्। गल्फका एक कर्मचारीका अनुसार त्यहाँ गल्फ खेल्न धेरैमा दैनिक ५० जना जति आउँछन्।

तीन सय रोपनीको त्यो सार्वजनिक सम्पत्ति आज नेपाली समाजको उच्च वर्गका ५० जना गल्फका सोखिनहरुले प्रयोग गर्छन्।

पशुपति मन्दिरको १ हजार १ सय ६५ रोपनी जग्गा एयरपोर्टको प्रयोगका लागि हवाई विभागले कुत तिरेर चलाउन थालेको हो। केही वर्षअघिदेखि मात्र हवाई विभागले पशुपति विकास कोषलाई वार्षिक एक करोड तिर्न थालेको छ। त्यही १ हजार १ सय ६५ रोपनीमध्ये ३०० रोपनी जग्गा हवाई विभागले रोयल गल्फ कोर्सलाई भाडामा दिएको हो।

यो ठाउँमा राणाहरुकै पालादेखि गल्फ खेल्ने गरिन्थ्यो। लवशमशेर राणा गल्फका सोखिन थिए। उनैले ‘गौचरन’ को यो भागमा राणा परिवारका सदस्यलाई गल्फ खेल्ने मैदान बनाए।

पछि राजा महेन्द्रले यसको नाम ‘रोयल नेपाल गल्फ कोर्स’ राखे। सन् १९६५ मा फेरि यो गल्फ कोर्स उद्घाटन भयो। त्यसपछि यो राजपरिवारले गल्फ खेल्ने मैदान बन्यो। धेरैपछि मात्र त्यो गल्फ कोर्स ‘सर्वसाधारण’ का लागि गल्फ खेल्न खुला गरिएको हो।

राणाहरुले सार्वजनिक सम्पत्तिमा ‘गल्फ कोर्स’ बनाएछन् भनेर गाली गर्नुपर्दैन। राजा महेन्द्रले पनि आफ्नै भाइहरुका लागि त्यसको उपयोग गरेछन् भनेर सराप्नु पनि जरुरी छैन। त्यो बेला सार्वजनिक खुला ठाउँको अभाव थिएन। एयरपोर्ट वरिपरिको क्षेत्र त गौचरन थियो। स्याल कराउने ठाउँ थियो। नयाँबानेश्वर, कोटेश्वर नै खेतका फाँट थिए। काठमाडौंभित्र मानिस टहल्ने, केटाकेटी खेल्ने प्रशस्त ठाउँ थिए।

अहिले समय बदलियो। काठमाडौं निस्सासिएको छ। सास फेर्ने ठाउँ छैन। केटाकेटी खेल्ने मैदान छैन। ठूला मानिस टहल्ने ठाउँ छैन। त्यसैले, अब ‘गल्फ कोर्स’ को कोर्स बदल्नुपर्छ। त्यसलाई खाली गर्नुपर्छ। आममानिसको त्यो नासो उनीहरुलाई नै फर्काउनुपर्छ।

अहिले गल्फ खेल्नेहरुसँग पनि डाहा गर्नु जरुरी छैन। मानिसका आ-आफ्ना सोख हुन्छन्। केही मात्रामा मानिस आफ्नो बर्कत र मेहनतले फरक-फरक वर्गमा छन्। भर्खरै मार्क्सको २०० औं जन्मजयन्ती मनाएका कैयन सर्वहाराले त बर्कतविनै उच्च वर्गको हैसियत आर्जन गरेका छन्। मेहनत गरेर गल्फ खेल्ने हैसियत बनाएकासँग के डाहा गर्नू!

गल्फ खेल्न अर्को विकल्प पनि छ। एयरपोर्टबाट पशुपति पछाडि हुँदै केही किलोमिटर पर योभन्दा दुई गुणा ठूलो गोकर्ण गल्फ कोर्स छ। ‘एट्टिन-होल’ को यो गोकर्ण गल्फ कोर्स झनै सुन्दर छ। त्यसैले गल्फका सोखिनहरुको सोख पनि हामीले खोस्नुपर्दैन। उनीहरु सजिलै गोकर्णतिर स्थानान्तरण हुन सक्छन्।

यो स्टोरी लेख्ने सिलसिलामा मैले दुईपटक रोयल नेपाल गल्फ कोर्सभित्र ओहोरदोहर गरेको छु। यति सुन्दर छ, म एकपटकले नपुगेर दुईपटक हिँडे। यसपालि चैतदेखि परेको पानीले त्यहाँभित्रको हरियाली हलक्कै बढेको छ।

म खप्तड पुगेको छैन। तस्बिरमा देखेको छु। सानै भए पनि यो गल्फ कोर्सको मैदानले कता कता तस्बिरमा देखेको खप्तडको झझल्को दिन्छ।

त्यहाँभित्र थोरै उकाली, ओराली र तरेली परेको मैदान छ। नौवटा ‘गल्फ होल’ वरिपरि हरियो कार्पेट ओछ्याएजस्तो नौ टुक्रा चउर छन्। स-साना खोल्सा छन्, पातला तर अँगालो हालौं लाग्ने सुन्दर रूख छन्। एयरपोर्टतिरको भित्तामा भने स्याहार अभावमा झाडी हुर्केको छ।

तीन सय रोपनीको यो मैदानमा नानीहरुका लागि खेल्ने विशिष्ट प्रकृतिको पार्क बनाउन सकिन्छ। भित्तामा विभिन्न प्रकृतिका मनमोहक फूल, बिरुवा रोप्न सकिन्छ। कुद्न, उफ्रन मैदान छँदैछ। उनीहरुलाई खेल्ने केही साधन थप्न सकिन्छ।

खुला र खेल्ने ठाउँबिना नानीहरुको उमेर मात्र थपिन्छ। उनीहरु सही अर्थमा हुर्किंदैनन्। स्वस्थ भएर हुर्किन उनीहरुलाई खेल्ने, चलायमान हुने ठाउँ चाहिन्छ। बालखामा बरु पढ्नुपर्दैन, तर शारीरिक र मानसिक रुपले हुर्किन नानीहरुले खेल्न जरुरी छ।

एसोसिएसन फर चाइल्डहुड इन्टरनेसनलका अनुसार नानीहरुका लागि खेल्नु भनेको सिक्नु हो। बाल्यकालको खेलसँग उनीहरुको भविष्यको सफलता जोडिएको छ। खेलले नानीहरुको मांसपेसी मात्र बलियो बनाउँदैन, संयोजन, भाषा प्रयोग, सोच्ने र विश्लेषण गर्ने क्षमता बढाउन सघाउ पुर्याउँछ। उनीहरुले बाल्यकालमा खेल्दा सिकेको सिप नै पछि जीवनमा उनीहरुलाई काम लाग्छ।

फेरि नबिर्सौं, हाम्रा नानीहरुले बोकेको पनि त्यही ‘जिन’ हो, जो हजारौं हजार वर्षदेखि प्रकृतिसँग रम्दै, प्रकृतिमा चलायमान हुँदै हुर्किएको छ। प्रकृति नै उसको प्राकृतिक वासस्थान हो। त्यसैले, नानीहरु पार्क, जंगल, रुखबिरुवामाझ पुग्नेबित्तकै फुरुंग हुँदै उफ्रिन, खेल्न थाल्छन्।

जंगल, रुखबिरुवा, पार्कप्रति मेरो निजी आसक्तिको कारण छ।

झापामा म जन्मेको गाउँ त्यसबेला बाक्ला रूखले भरिएको थियो। माथि चुरेदेखि हाम्रो गाउँसम्मै यति बाक्ला रुख थिए, बाँदर, ढेडु बथानमै आउँथे। त्यसपछि हाम्रो दसैं सुरु हुन्थ्यो। भाटामा डोरी बाँधेर गुलेली बनायो। सन्ठीको अगाडिपट्टि फलामका काँटी घुसारेर तीर बनायो र हिँड्यो बाँदर ताक्न। कति तीर बाँदरलाई लागे, कति तीर बाँदरले समातेर भाँचे। कति मकैबारीमा हराए।

बाँदरले अजीवका हरकत देखाउँथे। कहिले हाँगा हल्लाउँदै हामीलाई लल्कार्थे। महशुर बाँदर त रुखबाटै ओर्लिएर हामीलाई खेद्न आउँथे। जंगलमा एक्लै हिँड्ने बाँदर खास महशुर हुन्थ्यो। हामी त्यस्ता ‘एक्ले बाँदर’ सँग सतर्क रहन्थ्यौं। खेतका मकै टन्न खाएर अघाएपछि उनीहरु ‘डिजर्ट’ मा एकअर्काका शरीरका जुम्रा खोजेर खान्थे।

हाम्रो गाउँ कन्काई किनारमा थियो। खोलामा पौडी खेल्न जान सुरुमा अलि परसम्म हिँड्नुपर्थ्यो। पछि खोलाले खेत काट्दै गाउँतिरै आयो। आमाबुवा दु:खी हुनुभयो। हामी खुसी भयौं, खोलो नजिक आयो। बिहानभरी पौडी खेलेर हामी कट्टु र टाउकाभरी बालुवा बोकेर घर फर्कन्थ्यौं। दिनभरी बरालिन जंगल छँदैथियो। साँझ कपडाको ‘होम-मेड’ फुटबल खेल्न घर-घरमा आँगन थिए। जिन्दगी बडो रोमाञ्चक थियो।

त्यो रोमाञ्चको डोरी छुट्यो। कान्छो छोरालाई ‘बोर्डिङ स्कुल’ पढाउन आमाबुवाले विराटनगर पठाउनुभयो। दिनभरी पढेर साँझ घर फर्किने भए पनि स्कुलको नाम थियो— अरनिको बोर्डिङ। जसरी धेरै गैर-आवासीय स्कुलको नाममा आज पनि बोर्डिङ झुन्डिने गर्छ।

विराटनगरमा म बस्ने घर हिमालय ‘टाकिज’ अर्थात् हिमालय सिनेमाघरसँगै थियो। दाइहरुको होटल कम्पाउन्ड सिनेमाहलसँग टाँसिएको थियो। त्यो होटलको ‘कान्छो साउ’ लाई सिनेमा घरमा पस्न र निस्कन ‘फ्री’ थियो।

अरु केटाकेटी साथीभाइले हेर्दा मलाई मोज थियो। मेरो मन भने सिनेमामा देखिने फूलवारी, जंगल, खोलानालासँगै झापाको गाउँतिर दौडिहाल्थ्यो। कतिपटक सिनेमाको पर्दामा आफ्नै गाउँ हेरेर फर्केको छु म!

एयरपोर्टस्थित गल्फ मैदान। तस्बिरः नारायण महर्जन/सेतोपाटी

म काठमाडौं खाल्डोमा बसेको तीस वर्षभन्दा बढी भयो। मेरो जीवनबाट खोलानाला, रुखबिरुवा हराएको पनि तीस वर्ष भयो। मेरी छोरी सात वर्षकी छे। खै, बा’को सरेर हो वा पुर्खाको ‘जिन’ कै प्रभाव हो, रूख, जंगल, खुला ठाउँ खुब मन पराउँछे।

मेरी सानी र उसका दौंतरीलाई काठमाडौंमा खेल्ने ठाउँ खोइ? उनीहरुको शारीरिक तथा मानसिक विकास हुने ठाउँ खोइ? खोइ उनीहरुका लागि फुसफुस अक्सिजन छाड्ने रुख?

काठमाडौंमा दुई विशाल पार्क बनाउन पाए हाम्रा नानीहरुलाई खेल्ने ठाउँको अभाव केही मात्रामा भए पनि पूरा हुन्थ्यो। रोयल नेपाल गल्फ कोर्समा सानी खेल्थी। म गल्फ कोर्सको उत्तरपूर्वपट्टि पाँच मिनेट माथि उक्लेर ध्रुवस्थली पुग्ने थिएँ।

ध्रुवस्थली अर्थात् शिवपुरी बाबाले अाफ्नो जीवनको अन्तिमकालमा तपस्या गरेको ठाउँ। काठमाडौंको बीचमा यति बाक्लो र सुन्दर जंगल छ भन्ने त्यहाँ नपुगेका मानिसले कल्पना पनि गर्न सक्दैनन्। त्यहाँ अग्ला सुलुक्क परेका रुख छन्। ध्रुवस्थली एयरपोर्टको उत्तरी भागकै पछाडि छ। जंगल यति बाक्लो छ, चराचुरुंगी यति बाक्ला छन्, तिनको गीत-संगीत यति अविछिन्न छ, जहाज कता टाढाटाढा कराएजस्तो भान हुन्छ।

शिवपुरी बाबाले त्यसै आफ्नो जीवनकालको अन्तिम समयमा बस्न, ध्यानमग्न हुन त्यो ठाउँ रोजेका हैनन्। उनी बसेको कुटी अझै सुरक्षित छ त्यहाँ। त्यही कुटीभित्र उनको समाधिस्थल छ।

मन बहलाउन, ध्यान गर्न केही मानिस त्यहाँ पुग्ने गरेका छन्। २०-२५ रोपनीको यो शिवपुरी बाबाको आश्रमस्थललाई योग र ध्यान केन्द्रका रुपमा विकास गर्न सकिन्छ। पशुपति क्षेत्र समेटेर बनाउन सकिने विशाल पार्कको अभिन्न अंग बन्नेछ ध्रुवस्थली। मौन, शान्त र ध्यान स्थल।

ध्रुवस्थली र मृगस्थली जंगल पहिले जोडिएका थिए। अहिले बाटोले छुट्टयाएको छ। बाटो दक्षिणमा ध्रुवस्थली र रोयल गल्फ कोर्स छ भने बाटोउत्तर ६ सय १९ रोपनीको मृगस्थली जंगल छ।

यो बाटोले सम्पदामाथि हाम्रो संवेदनाहीन अतिक्रमणको कथा बोल्छ। २०६४ सालमा पुष्पकमल दाहाल सरकारका पालामा पशुपति क्षेत्र विकास कोषको विरोधका बाबजुद त्यो बाटो खोलिएको कोषका पूर्व सदस्य सचिव गोविन्द टण्डन बताउँछन्। विरोध पशुपति क्षेत्र विकास कोषको मात्र थिएन। युनेस्कोले पनि त्यो बाटो बनाउन हुन्न भन्ने अडान लिएको थियो। पशुपति क्षेत्रको जंगल बीचबाट बाटो खोले पशुपतिलाई विश्व सम्पदा सूचीबाट हटाउने चेतावनी दिएको थियो।

२०६४ सालको चुनावमा काठमाडौं-२ बाट जितेका माओवादी नेता झक्कुप्रसाद सुवेदीले गोठाटारबासीसँग त्यो बाटो खोल्ने बाचाका साथ भोट मागेका थिए। त्यो बाटोले गोठाटारलाई काठमाडौंसँग सिधै जोड्छ। ‘गोठाटारतिरका जग्गा दलालले पनि त्यो बाटो खोल्न पैसाको चलखेल गरे,’ कोषका एक कर्मचारी भन्छन्।

हुन पनि रातारात डोजर लगाएर जंगल काटियो, बाटो खुल्यो। ‘बाटो खोल्न त्यहाँ बहुमूल्यवान छ सयजति रुख काटियो,’ टण्डन भन्छन्।

सर्वोच्च अदालतले त्यो बाटो बन्द गर्ने आदेश दिइसकेको छ। बाटो बन्द गरेर गल्फ कोर्स, ध्रुवस्थली र मृगस्थली जोडेपछि झन्डै एक हजार रोपनीको वन क्षेत्र स्थापना हुन्छ। यो क्षेत्रभित्र गुह्वेश्वरी मन्दिर, विश्वरुप मन्दिर, किरातेश्वर र शिवपुरी बाबाको आश्रमजस्ता सम्पदा पर्छन्। सबैभन्दा ठूलो सम्पदा बागमतीपारि पशुपति मन्दिर नै छ।

पशुपति मन्दिरलाई केन्द्रमा पारेर यो विशाल पार्क स्थापना गर्ने हो भने आध्यात्मिक तथा साँस्कृतिक महत्वको पार्क बन्नेछ, जहाँ आममानिस र पर्यटक रमाउँछन, घन्टौं बिताउँछन्।

हामीले पशुपति क्षेत्रलाई पशुपति मन्दिर र आर्यघाटका रुपमा मात्र स्थापित गर्यौं। त्यहाँ मानिस कि पूजा गर्न, भगवानसँग केही माग्न वा मलामीका रुपमा मात्र जाने गर्छन्। मन्दिर वा शव ढोगेर तुरुन्त फर्किन्छन्। जबकि पशुपति क्षेत्र अहिले पनि यति विशाल छ, मृगस्थली, ध्रुवस्थली र गल्फ कोर्सबाहेक पशुपति मन्दिरमाथि पूर्वपट्टि ६७ रोपनीको कैलाश डाँडो छ। हिउँदमा यो डाँडोबाट उत्तरपट्टि हिमशृंखला देखिन्छ। पशुपतिको शिरमा रहेको यो डाँडोमा विशाल फूलवारी बनाए कति मनमोहक देखिएला!

गौशाला चोकबाट पशुपति छिर्ने बाटोको दुवैतिर पनि धेरै खाली जग्गा छ। बाटो तल ९५ रोपनीको वनकाली क्षेत्रमा बनिरहेको सानो उद्यानबाहेक जग्गा फोहोरमैला र झाडीले भरिएको छ। बाटोमाथि ८७ रोपनी क्षेत्रको देव उद्यानमा अहिले पनि सुन्दर बगैंचा र पार्क छ।

पशुपति क्षेत्र विकास कोषको कार्यालय रहेको यो ठाउँमा जाने गेट सर्वसाधारणले नदेख्ने ठाउँमा छ। पर्खालले घेरेर राखेको त्यो उद्यानमा जान मिल्ने हो वा होइन भन्ने जानकारी कतै छैन।

पशुपति मन्दिर क्षेत्रमै १७८ रोपनीको अर्को जंगल पनि छ। त्यो हो, गौशाला-चाबहिल जाने बाटो पश्चिमपट्टिको भण्डारखाल वन क्षेत्र।

यसरी पशुपति वरिपरि विशाल पार्क बनाउन मिल्ने १५ सय रोपनीजति जग्गा टुक्राटुक्रा भएर बसेको छ। कुनै फोहोर छ, कुनै झाडी छ। समग्रमा संरक्षणविहीन छ। आज सर्वसाधारण वरिपरिका क्षेत्र घुम्न जाँदैनन्। त्यो क्षेत्र लागुपदार्थ दुर्व्यसनी र अपराधमा संलग्न मानिसको अखाडा बनेको छ।

पशुपति क्षेत्र समेटेर विशाल पार्क बनायौं भने त्यो विशिष्ट प्रकृतिको पार्क हुनेछ। संसारका धेरै सहरमा समथर पार्क छन्। पशुपति क्षेत्रको यो पार्कमा भने प्रशस्त उकालीओराली हुनेछ। प्रशस्त जैविक विविधता हुनेछ। यसको आध्यात्मिक, साँस्कृतिक महत्व हुनेछ।

काठमाडौंमा टुँडिखेल र पशुपति क्षेत्रलाई केन्द्रमा राखेर बनाइने दुई पार्कले काठमाडौंको सुन्दरता ह्वात्तै बढाउने छ। सहरलाई सास फेर्ने दुई विशाल फोक्सो दिनेछ। परिवारसँग भुल्ने, केटाकेटीसँग खेल्ने, साथीभाइ भेट्ने ठाउँ दिनेछ। पर्यटकलाई केही दिन भुल्ने बहाना दिनेछ।

सबैभन्दा ठूलो कुरा, यी पार्कले कम आय भएका मानिसलाई सबैभन्दा ठूलो राहत दिनेछन्। उनीहरु सहरको धूलो र कोलाहलबाट उम्केर कहीँ जान सक्दैनन्। उनीहरुसँग धुलिखेल, पोखरा, चितवन जाने पैसा र समय हुन्न। काठमाडौंका सडकमा धूलो खाने पनि उनीहरु नै हुन्छन्। बिरामी पर्यो भने उपचार खर्च जोहो गर्न नसक्ने पनि उनीहरु नै हुन्। त्यसैले, पार्क निर्माण ‘समाजवादी’ काम हो।

पार्क निर्माण गर्न धेरै खर्च पनि लाग्दैन। रेल, सडकभन्दा सस्तो परियोजना हो, पार्क निर्माण। यी पार्कको स्थापना काठमाडौंको सुन्दरता स्थापनामा पहिलो कदम पनि हुनेछ।

प्रधानमन्त्री केपी ओलीले भनेका छन्— विश्वले अब नेपाललाई प्रकृति र मान्छेले बनाएको सुन्दर देश भनेर चिन्नेछन्।

प्रधानमन्त्री भनाइको पहिलो परीक्षण काठमाडौंमै हुनेछ!

Share:

© 2017 Setopati Sanchar Pvt. Ltd.