कहाँ गए मेरा बालसखाहरू?


हामी जहाँ हुर्कन्छौं, त्यो परिवेशको हावापानीमा विभिन्न किटपतंग, पशुपक्षी, माछा–भ्यागुता, छेपारो र गँड्यौला पनि हामीसँगै हुर्कन्छन् र बढ्छन्।

तीमध्ये थुप्रै जीव–प्राणीसँग हामी खेल्छौं, रमाउँछौं। म पनि खेलेको थिएँ।

हरेक दिन मेरो खेल जीवनसँग सम्बन्ध गाँस्न आउँथे ती मेरा किराफट्यांग्रा बालसखा। अचेल कहाँ गए, कता गए, थाहा छैन। यही उपत्यकामा मसँगै खेलेका ती प्राणी वरपर देख्न नपाएको वर्षौं भयो।

काठमाडौंको सहरी वातावरणमा तिनीहरूको अस्तित्व बिलायो होला सायद। प्रदूषित हावा, पानी र माटोमा तिनीहरू बस्न र बाँच्न सक्ने अवस्थामा छैनन्।

तै, तिनका सम्झना अझै मेरा स्मृतिमा थोरै भए पनि बाँचेका छन्।

मेरा ती जीव बालसखाको कुरा सबभन्दा पहिले टुँडिखेलको ट्वाँटीबाटै कोट्याउँछु। हामी टुँडिखेलमा भकुन्डो खेल्थ्यौं। खेल सकिएपछि साँझले छोप्न थाल्थ्यो। साँझको सन्नाटा चिर्न मेरो बालसखा ट्वाँटी ‘ट्वाँइ…इ’ गर्दै आउँथ्यो। एकोहोरो आएको आवाज पछ्याउँदै जाँदा चौरमा केही दूला देखिन्थे। त्यही दूलो कोट्याएर हेर्थ्यौं। ट्वाँटी दूलोमै बसेर मान्छेका कानसम्म आफ्नो आवाज पुर्‍याइरहेको हुन्थ्यो।

कहिलेकाँही दूलो कोट्याएर हेर्दा पनि ट्वाँटी देखिँदैन थियो। अनि हामी दूलोमा पानी हाल्थ्यौं। पानी पसेपछि ट्वाँटीलाई बाहिर ननिस्की धर हुन्थेन। ट्वाँटी निकाल्न हरप्रयास गथ्र्यौं।

हामी ट्वाँटीसँग खुब खेल्थ्यौं। दूलोमा देखिएपछि पक्डेर गोल्टिनभित्र राख्थ्यौं। त्यो त्यहीँ बसिरहन्थ्यो, झट्ट उफ्रन सक्दैन। न त उड्न नै सक्छ।

ट्वाँटीको यही विशेषताले हामी त्यसलाई घरसम्म लैजान सक्थ्यौं। समाउँदै, छाड्दै, फेरि समाउँदै खेल्थ्यौं।

बारीमा छाडिदियो भने चाहिँ यसले फेरि दूलो खन्न थालिहाल्छ। टाउकाले जोतेर हातले खन्दै सुरूङ बनाउँछ। आफ्नो वासस्थान बनाउन प्रयोग हुनाले यसको टाउको, छाती र हात निकै बलिया हुन्छन्। अनि यसले आफ्नो सुरूङ खनेको दृश्य बडो रोचक हुन्छ।

ट्वाँटीले आवाज निकाल्ने विशेष कारण छ, पोथी बोलाउन। यसले आवाज पनि विशेष तरिकाबाटै निकाल्छ। मान्छेले जस्तो कण्ठबाट होइन, आफ्ना पखेटा र खुट्टा रगडेर। ट्वाँटीमात्र होइन, झ्याउँकिरी र अरू फट्यांग्राले पनि यसैगरी आवाज निकाल्छन्।

तिनीहरूले कुन तेज र गतिमा आफ्ना पखेटा र खुट्टा रगडेर आवाज निकाल्छन् भन्ने अझै कौतुहलको विषय हो। हामीले खेल्न घर ल्याएका ती ट्वाँटीले कहिल्यै आवाज निकालेनन्। उसको मस्ती र प्राकृतिक व्यवहार हामीले बिथोल्यौं। हामी पापी खेल खेल्दा रहेछौं।

मेरो बालसखा ट्वाँटी अचेल टुँडिखेलका साँझमा कराउँदैन। त्यहाँको सन्नाटा आजभोलि मान्छे र गाडीको ‘ट्वाँट्वाँ’ ले चिरिन्छ।

ट्वाँटी अहिलेका पुस्तामध्ये धेरैले देख्न पाएनन् होला। यो एक प्रकारको फट्यांग्रा हो। करिब एक इन्च लामो हुन्छ। यसको अंग्रेजी नाम ‘अफ्रिकन मोल क्रिकेट’ हो। अंग्रेजी भाषा पनि अजिब छ। मैले बाल्यकालमा खेल्ने फट्यांग्रा पनि क्रिकेट, अहिले सन्दिप लामिछानेले खेल्ने पनि क्रिकेट। मैदान पनि उही टुँडिखेल। तर सन्दिपको क्रिकेट माथि–माथि उडिरहँदा मेरो क्रिकेटको नामोनिसान देखिँदैन।

टुँडिखेलमा मेरो अर्को साथी थियो, ‘गैंडाकी’ अर्थात् गैंडाकिरो। गाढा चम्किलो खपटाको ढाल ओडेको र टाउकोमा गैंडाको जस्तै देखिने साना सिङ भएको यो डल्ले किरा एक प्रकारको गोब्रेकिरा हो।

यसका खपटाभित्र लामो–लामो पखेटा लुकेको हुन्छ। तिनै पखेटा फर्फराएर उड्न सक्छ। हामीले समायौं भने छ वटै खुट्टा जिउभित्र लुकाएर मृत जस्तै बसिदिन्छ। त्यो डल्लो अवस्थामा बसेका बेला गुडायौं भने ओखर दाना झैं गुड्किन्छ। नितम्भलाई कतै रगडिदियौं भने छ वटै खुट्टा निकालेर सल्बलाउन थाल्छ। केहीबेर नचलाई छाडिदियौं भने विस्तारै चल्न थाल्छ र आफ्नो सुरक्षित ठाउँ खोज्न फुर्रर उड्छ।

टुँडिखेलका गैंडाकी अर्थात् गोब्रेकिराले भने अरू गोब्रेले झैं गोबर डल्लो पारेर गुडाउँदै लैजान जानेका थिएनन्। तिनीहरू गोबरकै थुप्रोमुनि आफ्नो सुरूङ बनाएर घरजम गर्थे। तिनलाई बटुल्न एक–दुई गोल्टिन पानी खर्चनुपथ्र्यो। तिनका सुरूङमा पानी पसेपछि विस्तारै गैंडाकी बाहिर आउँथ्यो। तिनलाई समातेर गोल्टिनमा बन्द गरी हामी घर लगेर खेल्थ्यौं। तिनलाई सास्ती दिन्थ्यौं। परपीडाको आनन्द, पापी आनन्द।

गैंडाकी खेल्ने विभिन्न तरिका थिए। कहिले गुड्काउने त कहिले दुई वटालाई जुधाउने। यिनको कुस्ती खेल रमाइलो हुन्छ। यो मात्र होइन, अरू विभिन्न खपटे किरा जुधाउने खेल हुन्छ। विशेषगरी जापानमा यो धेरै जमेको छ। त्यहाँ खपटे किराको माग हुन्छ। सन् २००१ मा केही जापानी नागरिकले खपटे किरा तस्करी गरेर लैजादै गर्दा पक्राउ परेका थिए। उनीहरूसँग धेरै संख्यामा बाह्रसिंगे खपटे थियो।

अर्को बालसखा हो, जुनकिरी। केटाकेटीलाई मात्र होइन, सबै उमेरका मान्छेलाई जुनकिरी प्यारो लाग्थ्यो। टुँडिखेल आसपास विशेषगरी टुकुचाका फाँटमा पिलिक–पिलिक गर्ने जुनकिरी मेरा स्मृतिपटलका चम्किला तारा हुन्।

अंग्रेजीमा ‘फायरफ्लाइ’ (अग्नीकिरा) भनिए पनि यिनका शरीरमा बल्ने अवयवले जूनको शितलता प्रदान गर्छ।

हामी जुनबेला जुनकिरीको बथानमा मिल्थ्यौं, त्योबेलाको आनन्द परमानन्द सावित हुन्थ्यो। घर फर्कन ढिलो नहुँदो हो त, आकाशका जूनतारा र धर्तीका जुनकिरीमाझ समय बिताउनु स्वर्ग अनुभूति गरेझैं लाग्थ्यो।

जुनकिरी अरू किरा–फट्यांग्रा जस्तो छिटो, छरितो र चनाखो हुँदैन। यसलाई हातले टपक्क समाउन सजिलो हुन्छ।

हामी माथिमाथि उडेका जुनकिरीलाई गीत गाएर बोलाउँथ्यौं। ‘फुटी फुटी गैंडा धौ बजी नय् यो सा क्वाँ क्वाँ वा’– टिलपिल किरा हो, दही चिउरा खाने भए तल–तल आऊ।

हाम्रो गीत सुने पनि, नसुने पनि केही जुनकिरी तल आउँथे। तिनलाई टिपेर सिसीमा जम्मा गथ्र्यौं। घर लान्थ्यौं। टुकी झैं बालेर हिँड्थ्यौं। एक–दुई वटा जुनकिरीका भने पेट च्यातेर भित्रको बल्ने अवयव निकाल्थ्यौं र निधारमा टीका बनाउँथ्यौं। यो राम्रो देखिन्थ्यो, तर धेरै बेर टिक्थेन। कलिलो मष्तिष्कले ती जुनकिरीलाई हुने पीडा बुझ्न सक्थेन।

अचेल भए हेरेरै रमाउँथे। तर काठमाडौंमा जुनकिरी नदेखेको धेरै भइसक्यो। अरू देशमा पनि जुनकिरी हेर्न पर्यटन विशेष नै बनेर जानुपर्ने अवस्था छ।

स्वच्छ हावा, शुद्ध पानी र शान्त अँध्यारो वातावरणलाई जुनकिरीले सिँगार्छ। आजभोलि संरक्षित क्षेत्र र सिमसारतिर मात्र सिमित छन् जुनकिरी।

मेरो बालापनको स्वच्छ टुँडिखेल र टुकुचा कुनै निकुञ्जभन्दा कम थिएन।

पुतलीको संसारमा उडेर पनि मैले बाल्यकाल बिताएँ। मेरो सबभन्दा प्रिय साथी थियो पुतली। झन् पुतलीको प्यूपा अवस्था मलाई औधी मनपर्ने। रोचक लाग्थ्यो यो अवस्था।

वीर अस्पताल बाहिरको सडक छेउछेउमा घाँसपात र झारैझार हुन्थ्यो। त्यहाँ सिस्नो पलाउँथ्यो। तिनै सिस्नोका पात खाएर पुतलीका लार्भा प्यूपा अवस्थामा परिणत हुन्थे।

लगभग दुई सेन्टिमिटर लामा प्यूपा जलपरी जस्तै देखिन्थे। प्यूपाको एकथरि चाँदी जस्तै हुन्थे। त्यसलाई ‘व विली’ अर्थात् चाँदी किरा र पहेँलो खालेलाई ‘लुँ विली’ अर्थात् सुन किरा भन्थ्यौं।

पात–पातमा भुण्डिएका ती प्यूपा एकदमै मुलायम हुन्थे। हामी ती प्यूपा टिप्थ्यौं। तिनको पुच्छर बुढीऔंला र चोरऔंलाले च्याप्थ्यौं। प्यूपा ठाडो हुन्थ्यो र हाम्रा हातमै ढल्की–ढल्की नाच्थ्यो। निकैबेर यसरी नाचेपछि त्यो थाक्थ्यो वा मथ्र्यो, हामी बुझ्थेनौं। चल्न छाडेपछि फ्याँक्दिन्थ्यौं। खेल खतम। कति निर्दयी !

लुँ विली र व विलीको कुरापछि पालो आउँछ ‘विली’ को। विली भनेको साङ्लो हो। साङ्लो भने यस्तो किरा हो, जसलाई देख्नासाथ केटाकेटी मात्र होइन, सबै मान्छेले प्रायः खेद्न थाल्थे। मार्थे। यो क्रम आज पनि जारी छ।

जसले जति मारे पनि साङ्लो भने हराएर गएन। र, यो लोप हुने प्राणी पनि होइन। किनकि, प्रदूषित हावापानी र वातावरणले अरू किरालाई असर गरे पनि साङ्लोलाई कुनै फरक पर्दैन। अरू केही नबाँचे पनि यो बाँचेकै हुन्छ।

भनिन्छ, आणविक युद्धले संसार नष्ट भए पनि साङ्लो नष्ट हुँदैन। हामीले पनि थाहा पाएकै होला, साङ्लोको टाउको काटिदिँदा पनि सात दिनसम्म मर्दैन। साङ्लोले नखाने पनि कुनै कुरा हुँदैन हाम्रा घरमा। खानै नपाए पनि यो एक महिनाभन्दा बढी बाँच्न सक्छ।

मेरो बालापनदेखि अचेलका केटाकेटीले पनि देख्दै आएको साङ्लोले भने कसैलाई रिझाउन सक्दैन। योसँग कोही खेल्दैन जसरी गैंडाकी, पुतली, जुनकिरीसँग खेलिन्छ।

यी प्यारा किराफट्यांग्रा त अब देखिन्नन्। आजभोलि उपलब्ध संचारप्रविधिको सहायता लिएर त्योबेला यी किरासँग भोगेका र तिनका विशेषताबारे वैज्ञानिक वास्तविकता खुट्याउन रमाइलो लाग्छ। यिनको संरक्षण र सम्बर्धनमा हामी चुकेको देख्दा भने केटाकेटीकै झैं मन कुँडिन्छ।

Share:

© 2017 Setopati Sanchar Pvt. Ltd.