‘स्ट्रङ र बेसर्म दुवै बनायो’

हारूमी हिरोनाकाको स्केच प्रतिकात्मकरूपमा राखिएको हो


“साँच्चिकै तपाईंले पाँच जनासँग प्रेम गर्नुभयो ?”

“अँ…गरेँ ।”

“बिहे त कसैसँग भएन नि, है ?”

“उनीहरुले मलाई छाडे ।”

“त्यसो भए पाँचपाँच जनासँग बे्रकअप भयो तपाईंको ?”

“त्यसै भन्नुपर्ला ।”

“पाँचै जनाले छाड्नुको कारण ?”

“कारण थाहा भएको भए गल्ती सुधारेर म छैटौंका लागि तयार हुन्थेँ ।”

मेरो स्वाभाविक उत्तरले पत्रकार रुपेश स्तब्ध भए ।

उनको हालत देखेर सुझाएँ, “पानी पिउनुस् ।”

“थ्याङ्क यू” उनले प्रतिक्रिया दिए । र, टेबलमा रहेको एक गिलास पानी पिए ।

मैले हातमा चुरोट लिएँ र मुस्कुराएँ । रुपेश आश्चर्यमा परे । टेबलको लाइटर उठाउँदै सोधे, “तपाईं चुरोट पिउनुहुन्छ ?”

“प्रेममा सबै जायज हुन्छ भन्छन् । यो चुरोट पनि जायजभित्र पर्छ सायद,” चुरोट ओठमै च्यापेर मैले अनुमान लगाएँ ।

“मतलब ?,” रुपेश हतास देखिए ।

“कुल रुपेशजी,” मैले उनलाई ढाडस दिएँ र संवाद अघि बढाएँ, “टुटेको प्रेमले सिकाएको लत हो, कहिलेकाहीँ पिउँछु ।”

“चुरोट सल्काउन म सहयोग गरुँ ?”

“चुरोट आफै सल्काउन सक्छु । नसक्ने एउटा काम छ, सघाउनुहुन्छ ?,” मैले प्रस्ताव गरेँ ।

“अवश्य,” उनले मेरो प्रस्तावमा सहमति जनाए ।

“मलाई किम जोङ उन भेट्न मन छ, भेटाइदिनुहुन्छ ?”

“किम जोङ उन ? उत्तर कोरियाका सर्वाेच्च नेता ?,” मेरो अनौठो प्रस्ताव सुनेर अकमकिँदै उनले सोधे ।

“हो”

रुपेशले लामो सास फेरे र भने, “सक्दिनँ ।”

मुस्कुराएँ । आफै चुरोट सल्काएँ । र भनेँ, “किम जोङ उनलाई भेट्नेबाहेक सबै काम म आफैं गर्न सक्छु ।”

मेरो प्रस्तावमा हारेका रुपेश मलाई जित्ने उद्देश्यले प्रस्तुत भए, “चुरोट पिउनु तपाईंका लागि पीडा हो वा खुसी ?”

“दुवै होइन,” चुरोटको धूवाँ उडाउँदै भनेँ, “दुख्ने ठाउँ बाँकी नै छैन, कहाँ दुखेर पीडा हुनु ? खुसी पाउन असल मान्छे बन्नुपर्छ रे । म कसैकी प्रेमिका पनि बन्न नसकेकी, कसरी असल मान्छे बनुँला खै ?”

चुरोटको अन्तिम सर्को तान्दै गर्दा रुपेशले प्रसङ्ग बदले, “पढाइ कति पूरा गर्नुभयो ?”

“अङग्रेजी साहित्यमा मास्टर्स सकियो । लभमा पिएचडीको शोधपत्र गरें, त्यसको नतिजा यही जिन्दगी हो ।”

“प्लिज…!” उनलाई वेटरले ल्याएको कफी पिउन आग्रह गरेँ ।

मुसुक्क हाँसे अनि सोधे, “यो तपाईंको प्रेमप्रतिको घृणा हो ?”

“होइन, ‘प्रेम’ शब्दलाई म अझै प्रेम गर्छु तर प्रेम गर्ने मान्छेलाई नगर्न सक्छु,” चुरोटको ठुटो एस्ट्रेमा निभाउँदै भनेँ ।

“इन्टे«स्टिङ एन्सर ! म तपाईंको उपन्यास ‘वान्ली लभ’को फ्यान हुँ,” उनले मेरो उपन्यासको प्रशंसा गरे ।

प्रतिउत्तरमा भनेँ, “यो शान्त हल र आजको दिन तपाईंकै लागि छुट्ट्याएकी छु । तपाईं र पाठकका तर्फबाट धक फुकाएर प्रश्न सोध्नुस् । म जवाफ दिएर मात्र यहाँबाट फर्किनेछु ।’

उनले मलाई हेरिरहे ।

“पत्यार लागेन ? हेर्नुस् मैले मोबाइल पनि अफ गरेकी छु । तपाईं पनि गर्नुस्,” उनलाई आग्रह गरेँ । उनले पनि तुरुन्तै मोबाइल अफ गरे ।

“तपाईंका यति धेरै प्रेम असफल भए । कहिलेकाहीँ अतितले रुवाउँछ होला है ? हीनताबोध पनि हुन्छ कि ?”

“आफूले गल्ती गर्दा पो मान्छेलाई हीनताबोध हुन्छ । दिल खोलेर गरेको प्रेममा पनि कहाँको हीनताबोध हुनु ?”

मेरो कुरा सुनेर रुपेशको अनुहारमा अनौठो प्रतिक्रिया देखियो । उनले सोधिहाले, “तपाईं पाँचपाँच जनासँग प्रेम गरेको सजिलै स्विकार्नुहुन्छ । केटीहरुका लागि यो डरलाग्दो कुरा होइन ?”

“आफूले गरेको प्रेम स्विकार्नु नै सबैभन्दा ठूलो कुरा हो । चाहे केटा होस् या केटी तर म त्यो केटी होइन, जसले प्रेम गरेर पनि गरेकै छैन भन्नुमा इज्जत ठान्छे । म त्यो केटी हुँ, जसले प्रेम गर्नुलाई इज्जत र हिम्मत ठान्छे । म सबैका सामु शिर उठाएर गर्वसाथ भन्न सक्छु, “मैले पाँच जनासँग प्रेम गरेँ, त्यो पनि इमानदारीका साथ । हृदयबाट प्रेम गरेँ । समर्पणबाट प्रेम गरेँ । प्रेम सृष्टिको शाश्वत सत्य हो भने त्यही प्रेम मैले गरेँ । प्रेमको अभिनय हैन, यथार्थ प्रेम गरेँ । मात्र….मात्र प्रेम गरेँ ।”

मेरो उत्तर सुनेर रुपेश तस्बिरजस्ता देखिए । मेरा आँखामा भने भय र सङ्कोच दुवै थिएनन् । सायद त्यतिखेर मेरो मुद्रा कुनै सिद्धयोगीको जस्तो बनेको थियो । उनले छक्क पर्दै फेरि सोधे, “

त्यसो भए प्रेमले तपाईंलाई के बनायो ?”

“स्ट्रङ र बेसर्म दुवै बनायो ।”

म मुस्कुराएँ । रुपेश मुस्काउन पनि सकेनन् । “यति गम्भीर विषयमा पनि तपाईं हाँस्न सक्नुहुन्छ ?” उनले सोधे ।

“जिन्दगीका सबै विषय गम्भीर छन्, म के के का लागि रोऊँ ? बानी परेपछि आँसुमा पनि आयोडिनको स्वाद आउँछ, मैले भोगेको कुरा ।”

त्यसपछि मैले खुला छाडेको केशलाई जुरो बनाएँ । लामो सास फेरेँ । रुपेश अवाक् भई मलाई हेरिरहेका थिए ।

यतिखेर उनले प्रश्न नसोधे पनि आफैं प्रस्तुत भएँ ।

प्रत्येक प्रेममा मलाई लाग्थ्यो, “संसारमा मलाई सबैभन्दा बढी माया गर्ने, खुसी दिने, बुझिदिने मान्छे यही हो । मेरो दिलको राजकुमार यही हो । यही हो मेरो जिन्दगी । यसैसँग जिन्दगी बिताउने हो मैले ।”

“देवदासकी पारु, रोमियोकी जुलियट, मज्नुकी लैला र मदनकी मुनाभन्दा धेरै माया गर्ने प्रेमिका बन्न प्रेम गरेकी थिएँ मैले । तर सालाहरुले बदनाम गरेर छोडिदिए ।”

“पहिले त सीधै यहीँ मुटुमै दुख्थ्यो । पोल्थ्यो । छटपटिन्थेँ । प्रेम टुट्दा कति रोएँ, त्यसको हिसाबै छैन । यही मुटु हो सबैले छियाछिया पारेको । यो अचेल न दुख्छ, न पोल्छ, न म नै छटपटिन्छु । सबले मिलेर मलाई पत्थर बनाइदिए, एकदमै निर्जीव, शुष्क,” म उन्मुक्त हाँसोका साथ प्रस्तुत भएँ ।

मेरो अनौठो स्वाभाव देखेर रुपेश छक्क परे ।

मैले कुरा जारी राखेँ, “मैले आफूलाई सम्हालिनँ । म जस्ती थिएँ, त्यही सही लाग्न थालेको थियो । सुध्रिने मन थिएन । बिग्रिने केही भए पो सुध्रिने इच्छा हुन्छ । आखिर, मसँग बिग्रिन बाँकी नै के थियो र ? नौ रेक्टरस्केलको भूकम्पले हल्लाएको बस्तीजस्तो थियो जिन्दगी । तहसनहस ।”

“आफ्नै पीडालाई पनि तपाईं व्यङ्ग्य गर्नुहुन्छ, आश्चर्य होइन ?,” रुपेशले क्यामेराको फ्रेमभित्र मेरो अनुहार मिलाउँदै सोधे ।

“यसो गर्दा बाँच्न सजिलो हुन्छ, रुपेशजी,” म कुटिल हाँसो हाँसेँ ।

“म्याम वाइन लिऊँ ?” रुपेशले मेरो मनोविज्ञान बुझ्न खोजे ।

“वियोगको पीडामा पनि नपिएको वाइन, पीडाको कथा सुनाउँदा पिउनु जरुरी छैन,” मैले तत्कालै उत्तर दिएँ ।

नशाले मनका सबै कुरा खोल्छ भन्छन् । रुपेश पनि मेरा सम्पूर्ण आन्तरिक कुरा खोल्न लागिपरेका थिए ।

फेरि उनले सोधे, “कफी र चुरोट लिऊँ ?”

म कफीको अम्मली नै थिएँ । त्यसमा पनि आज दिल खोलेर चुरोट पिउने वातावरण जुरेको थियो । दरबारमार्गको नाम चलेको होटलको मिटिङ हललाई आजको अन्तर्वार्ताका लागि मैले बुक गरेकी हुँ । यो सुरक्षित ठाउँ थियो, त्यसैले पत्रकारले गरेको प्रस्तावलाई मैले नाइनास्ती गरिनँ । उनले वेटरलाई बोलाए । र, दुई कप मिल्क कफीका साथमा एक बट्टा चुरोट पनि मगाए ।

अर्डर लिएर जाँदै गरेका वेटरलाई बोलाएँ, “एक्स्क्युज मी ।”

वेटर हामीतिर फर्किए । “डबल सट एस्प्रेसो ।”

“ओके म्याम, एउटा मिल्क कफी क्यानसल गरौं ?”

“एस” मैले अर्डर चेन्ज गरें । वेटर भित्रतिर लागे । रुपेश भने एकोहोरो किसिमले मलाई हेरिरहेकै थिए ।

‘तपाईंको ‘वान्ली लभ’ कस्तो उपन्यास हो ?,” रुपेशले मोबाइलको रेर्कडर मेरो नजिकै ल्याए ।

“वान्ली लभ उपन्यास सुख, दुःख, हाँसो, खुसी, माया, प्रेम, त्याग, समर्पण र रोमान्सले भरिएको सिङ्गो जिन्दगी हो । जोकसैको जिन्दगीसँग यो मेल खान सक्छ,” मुस्कुराउँदै भनेँ ।

रुपेशले सोधे, “पाँच प्रेमीमध्ये तपाईंले सबैभन्दा बढी कसलाई प्रेम गर्नुभयो ? इमानदारसाथ भन्दिनुस् न ?”

रुपेशको प्रश्नपछि म एकछिन हाँसेँ ।

उनले रेर्कडरलाई अफ मुडमा राखे । उनी एकोहोरो किमिसले मलाई हेरिरहेका थिए । मैले हाँसो कम गरेँ र भनेँ, “सोच्दै छु, पाँचमध्ये मैले कसलाई बढी प्रेम गरेँ ।”

उनले ठट्टा गरे, “रमाइलो या प्रेम गर्न कसैले तपाईंबाट सिकोस् ।”

म मुस्कुराएँ मात्र । रुपेशले रेर्कडर अन गरे । मैले जवाफ दिएँ, “सबैलाई उत्तिकै प्रेम गरेँ, जति मसँग थियो ।”

“यो इमानदार उत्तर भएन, इमानदार जवाफ चाहियो,” रुपेशले कुराको रहस्य खोतल्न खोजे ।

“म जसलाई प्रेम गर्थें, बस प्रेम मात्र गर्थें । त्यसकारण म भन्न सक्दिनँ, कसलाई बढी प्रेम गरेँ या कसलाई कम । आखिर, प्रेम जोख्ने तराजु पनि त छैन नि, होइन ?”

“मान्छेहरु पहिलो प्रेम भुल्न सकिन्न भन्छन्, तर तपाईंले त उपन्यासमा दोस्रो प्रेम भुल्न सक्नुभएको छैन नि, कारण के होला ?,” उनले सोधे ।

“सबैलाई जस्तै मलाई पनि पहिलो पटक प्रेम हुँदा होस् या टुट्दा एकदमै बढी पीडा भएको थियो । आत्महत्याको विचार पनि आएको थियो । जिन्दगीदेखि वाक्क भएकी थिएँ । पहिलो प्रेम गुमाउँदाको पीडा कहाँ भुल्न सकिन्छ छ ?,” म स्तब्ध भएँ ।

म पोखिँदै थिएँ । जवाफ बाँकी नै थियो । तत्काल आफूलाई सम्हालेँ र संवाद अघि बढाएँ, “दोस्रो प्रेमको सम्झना भइरहनु सिद्धार्थलाई बढी माया गरेको होइन । उसको त्याग र वीरताप्रति बढी माया र सम्मान दिएकी हुँ । अरुले स्वार्थका लागि मलाई छाडे तर सिद्धार्थले मेरा लागि दुनियाँ छाड्यो । म सम्मान गर्छु ऊ र उसको प्रेमलाई ।”

जवाफ सुनेर रुपेशले लामो सुस्केरा हाले ।

वेटरले कफीचुरोट ल्याइसकेको थियो । मैले कफीसँगै चुरोट तानेँ । रुपेशले मेरो पुस्तक अघि राखे । र, भने, “मैले तपाईंको पुस्तक एक, दुई होइन, तीनतीन पटक पढिसकेको छु तर तपाईंबाटै सुन्न चाहन्छु – ती प्रेमकथा र तिनका नायकहरु, जसलाई तपाईं मनभरिको प्रेम गर्नुहुन्थ्यो ।”

रुपेशको अनुरोधलाई मैले सहर्ष स्विकारेँ । एक गिलास पानी एक सासमै रित्याएँ । आफ्नो केशराशि खुला छाडिदिएँ । पिइरहेको चुरोट सिध्याएँ । सजिलोका लागि दुवै खुट्टा सोफामाथि खुम्च्याएँ । किनकि अब मस्तिष्कको यात्रा गर्नु थियो । रुपेशले पनि सजिलोका लागि उपरखुट्टी लगाए । कफीको चुस्की लिएर भने, “म्याम अब सुरु गरौं ।”

(भोलि शनिबार सिटि म्याक्स हलमा सार्वजनिक हुने सबु सुबेदी लिखित उपन्यासको पुस्तक अंश)

 

 

Share:

© 2017 Setopati Sanchar Pvt. Ltd.