दिपावली         

कथा


१.

भित्ताको घडीले १२ बजेको संकेत दियो। तर निद्राले छट्पटी र अधैर्य  रुप लिएको छ। शरीर पसिनाले निथ्रुक्क भिजेझैँ लाग्छ। तर बाहिरी मौसम भने माघको ठण्डिले कब्जा गरेको छ। विचारहरूले कुनै प्रतिकृया जनाउन सकिरहेका छैनन्। एकैपटक धेरै घटनाका दृश्य परिदृष्य मस्तिष्कमा चल्मलाएका छन्।

उसलाई आफु सुतिरहेको ओछ्यानमा लास पल्टिरहेझैँ लाग्छ। सास फेरीफेरी लास पल्टिरहेको छ। लासलाई अधैर्य पीडाले गाँजेको छ। मात्र त्यो लास यसकारण स्थिर छ कि ऊ केही सोच्न सकिरहेको छैन। केवल अचेतन तन्द्रामा पल्टने असफल प्रयास गरिरहेको छ। विस्तारै स्मृतीमा धमिला बादलहरु मडारिएर आउँछन्। र ती अस्पष्ट विहङ्गमहरट्ठका  अनौठो आकृती बन्छन् , ती आकृतीहरु एकआपसमा मिसिन्छन्, घोलिन्छन् र  पूर्णतया एउटा हँसिलो चेहरामा रुपान्तरित हुन्छन्। त्यो चेहरा यति स्पष्ट बन्छ कि जुन उसकै हृदयभर बसिरहेको छ। आँखाको अन्तरस्करणमा बसेको छ।  एउटा ज्ञात अनुहार, सम्झँदा पनि शरीर तरगिंत भएर आउने अस्वभाविक मुस्कान! उसको शरीरमा अज्ञात शक्ती आएझैँ लाग्छ। ऊ एकटक मुस्कुराउँछ।

गढ्याङ्ग……!

त्यो स्वरुप क्षतविक्षद भयो। मानुँ कि दुश्मनले पर्दापछाडीबाट अचानक वाण हान्यो । काकताली पर्यो। ऊ नराम्ररी झस्कियो। ऊ उठ्यो र वत्तीको स्विच अन गर्यो । नजिकैको टेबलबाट पानी राखिएको बोतल तान्यो र हप्तौँदिनको प्यास मेटाए जसरी पानी पियो। त्यसपछि कोठाको पल्लो छेउमा गएर झ्याल खोलेर बाहिरतिर हेर्यो। बाहिर निकै सुनसान छ, आकास खुल्न सकेको छैन। पानी पर्ला झैँ मौसम छ। उसलाई बल्ल चिसो महशुस भयो।  ऊ झ्याल ढप्काएर ओछ्यानमा आएर पल्टियो। र उही चेहरा पुनः सम्झिन खोज्यो, तर अस्पष्ट भएर आयो। ऊ फेरी भावविह्वल भयो। र पीडामा अमिलो आँसु खसालेर भन्यो– अलविदा कमरेड!

२.

विद्यार्थी युनियन जिल्ला कमिटीको नियमित बैठकको दिन थियो। कमिटीका साथीहरू पार्टी कार्यालयमा भेला हुदैँ थिए। बैठक ११ बजे सुरु गर्ने पूर्व जानकारी अनुरुप नै थियो। बैठकमा आउने कम्रेडहरु सबै १६ को उकालो र ३० को ओरालोमा थिए। भेटमा प्रत्येकले एक अर्कालाई अभिभावद गर्थे। अभिभादन गर्दा सबैको आँखा अनौठो उत्साहले भरिन्थ्यो। मानुँ कि दाँया हातमा कसिएको पाँच औँलाको कसिलो मुठ्ठी उचाल्दा कुनै वैचारीक लडाइमा तैनाथ नवयुगको सिपाही जस्तो  देखिन्थे । विद्यार्थीहरुको अनुहारमा उज्यालोपन थियो। नयाँ जाँगर थियो।

विश्वविद्यालयले सर्टिफिकेट मात्र होइन, दक्ष जनशक्ती उत्पादन गर्नुपर्छ भन्ने सबैको एकमत थियो। शैक्षिक रुपान्तरण मात्र होइन पार्टीको अस्तित्व पनि यिनैले धानेका थिए।

पार्टीका हरेक नेता यिनैको आडमा दरिलो बनेका थिए । पार्टीलाई चुनाव जिताउन होस् या देशमा ठूला परिवर्तन जगाउन होस्, सबैभन्दा ठुलो संघर्ष र भोगाई यिनैको हुन्थ्यो । पार्टी निकट संगठन भनिएतापनि पार्टी जुन उचाईमा उभिएको थियो त्यो उचाईको पिँधमा यिनीहरुकै काँध थियो। यिनिहरु जीवनप्रति कम र पार्टीप्रति बढी समर्पित थिए।

कमिटीको बैठक सुरु भयो। बैठकको सञ्चालन कमिटीका सचिव कम्रेड उत्सवले गरे। संगठनका अध्यक्ष कम्रेड जीवनले कार्यक्रमको अध्यक्षता ग्रहण गरे। बैठकमा पार्टीका केन्द्रिय तहका एक प्रखर नेता प्रमख अतिथि थिए , साथमा जिल्ला तहका केही नेताहरु पनि अतिथि थिए । बैठकको औपचारीक कार्यक्रममा अतिथि नेताहरुले चुनावलाई इगिंत गर्दै मन्तब्य राखे। नेताहरुले मन्तब्य राखिरहँदा विद्यार्थीहरुको रौँ ठाडो भएर आउँथे। चैते हावाझैँ जोसिन्थे। रगत समुन्द्रको छाल जसरी नसा नसामा उर्लिन्थ्यो।

नेताको प्रत्येक भाषणमा उत्साहको ठूलै ताली बज्थ्यो । ताली विद्यार्थीहरूको उत्साह र विचारको सहमती बुझाउने माध्यम थियो। त्यो माझबाट उद्दीप्त भई पहिलो उत्साहको ताली बजाउने कम्रेड विवश नै हुन्थ्यो। ऊ कमिटीको नवनिर्वाचित सदस्य थियो। ऊ निकै बौद्धिक र चिन्तनशिल विद्यार्थी थियो। सानै उमेरदेखी माक्र्सवाद बुझ्न प्रयत्न गर्दथ्यो। उमेरमा बीस पुग्दै थियो। तर विचारमा निकै तेज । र संठगन र पार्टीपति प्रतिवद्ध कार्यकर्ताजस्तो । जब ऊ हौसिएर ताली बजाउँथ्यो। त्यसपछि तालिका फोहरा छुट्थे।

देशमा प्रतिनिधि सभाको चुनाव नजिकिँदै थियो। नेताहरू विद्यार्थीलाई चुनावमा कटिबद्ध हुन हौस्याउँदै थिए। अतिथिहरुले बोलिसकेपछि अब पालो प्रमुख अतिथिको थियो।

‘आजका प्रमुख अतिथि एवं पार्टीका केन्द्रिय सदस्य वीर बहादुर तिमल्सिनालाई मन्तब्य राखिदिन अनुरोध गर्दछु।’  सचिव उत्सवले अनुरोध गरेपछि प्रमुख अतिथिको आसनबाट उठ्दै वीर बहादुर भाषण दिन थाले  । भाषणमा उनले विद्यार्थी संगठन को इतिहासबारे बोल्न थाले। २०३६ सालको जनमत संग्रह, २०४६ सालको प्रजातन्त्र पुनःस्थापना गर्न गरिएको आन्दोलनमा विद्यार्थीले दिएको बलिदान बारे बोले।

आफू पनि विद्यार्थी कालबाटै राजनीति गरेको हुनाले विद्यार्थी जीवनको प्रशस्त अनुभव संगालेको बताए । ‘ म विगतमा फर्कदा एउटा दुब्लो पातलो, मैलो कपडामा आन्दोलन गर्न हिँडेको विरवहादुर सम्झन्छु । मेरा धेरै सहपाटीहरु आन्दोलनमा सहिद भए । देशलाई रगत चाहिएको थियो । बली भए । म पनि मृत्यु जितेर यहाँसम्म आइपुगे । मेरो जीवनको महत्वपूर्ण अशं देश र जनताको खातिर व्यतित भएका छन् ।’ उनी जति बोल्थे उति नै रौनक थपिदै जान्थ्यो । “कठोर शाही राजतन्त्रको अन्त्य भइसकेको संघिय गणतन्त्र नेपालमा अब हामी स्वतन्त्र छौँ । अब बन्दुकले होइन विचारले युद्ध लड्नु पर्छ । विद्यार्थी संगठन त्यो विचारको  नयाँ आयाम हो।’

भाषणले कम्रेड विवशलाई ठूलै शक्ती पैदा भएझैँ लाग्थ्यो । आफुमा आएको उत्साह ऊ आफ्नो हितैशी कम्रेड उत्सवलाई देखाउन चाहन्थ्यो । उत्सव कमिटीको सचिव भएतापनि विवशको विचारको प्रशंसक थियो । उसैको कारण विवश जिल्ला कमिटीमा आएको थियो।  कम्रेड उत्सव आफ्नो मित्रमा आएको उत्तेजना महशुश गर्दै थियो । यद्यपी उसलाई पनि कुनै जादुले झैँ छोइरह्यो । ‘अब प्रतिनिधि सभाको चुनाव नजिकिँदै छ। हाम्रो पार्टीको जित सुनिश्चित छ। कारण पार्टीमा तपाइहरुजस्ता जुझारु युवा विद्यार्थीहरुको योगदान छ । यो देश र जनताको निम्ति हाम्रो पार्टीले चुनाव जित्नु  अत्यावश्यक छ। यसको निम्ति आजैबाट तपाईहरु लाग्नुहोस् । जिम्मेवारी बाँडफाँड गर्नुहोस् । आफ्नो जिल्लाको नेतासँग समन्वय गर्नुहोस् । यो देशैभरी हाम्रो जित सुनिश्चित बनाउनु पर्छ।’

प्रमुख अतिथिको भाषण पश्चात उनीहरुलाई स–सम्मान विदाई गरिए । त्यसपछि कमिटीको छलफल चुनाव केन्द्रित रह्यो । सबैलाई आ–आफ्नो भूगोलको जिम्मेवारी पर्यो । क्रमेड उत्सव र विवश को भूगोल एउटै थियो । छलफलमा कम्रेड विवशले निकै वैचारिक कुराहरु राखे । र उनले सँगसँगै एउटा अर्को प्रस्ताब पनि राखे ।त्यो प्रस्ताब थियो दासढुगां को विषयमा । ‘कम्रेडहरु पार्टीको तत्कालिन महासचिव मदन भण्डारीको हत्याको विषयलाई हामीले हाम्रो जिल्ला तहबाट फेरी उठाउनु पर्छ । हाम्रै पार्टीको सरकार आउँदा पनि यस विषय गुम भयो । हामीले यस विषयलाई पुनःजागृत गराउनुपर्छ । पार्टीका नेताहरुलाई झकझकाउनु पर्छ ।’ कम्रेड विवशको प्रस्तावलाई कम्रेड उत्सवले सहमती जनाए । तर अरु कम्रेडरूरुले चासो जनाएनन् । चुनाव नजिक आइसकेको हुनाले यो विषयलाई प्राथमिकतामा नराखौँ भन्ने प्रायःको धारणा थियो । अन्ततः उनी चुप लागे।

बैठक सकियो। सबै आ–आफ्नो बाटो तर्फ लागे । कम्रेड उत्सव र विवश सँगै आफ्नो भूगोल तर्फ हिँडे । भोलीपल्ट देखि नै कम्रेड विवश र उत्सव चुनावको लागि खटिने योजना बनाए । यी दुबै आफ्नो भूगोलमा चिर–परिचित नाम थिए। कम्रेड विवश राजनीतिक पद विना नै पार्टी र जनताको सेवा गर्न सकिन्छ भन्ने भावनाको थियो । त्यसकारण ऊ आफु पदमै बसुँ भन्ने चाहदैन थियो । तर यसपाली भने उत्सवको जोड कै कारण ऊ जिल्ला कमिटीका आउन बाध्य भएको थियो।

उनीहरु सँगै हुँदा राजनीतिक बहस गर्न  रुचाउँथे । यदि फरक पार्टीको नेता भेटे भने बहश झनै चर्को पनि भइदिन्थ्यो । चुनावको समय यस्तो धेरै घटनाहरु घटे । कम्रेड विवश विद्यार्थीहरु र अभिभावकहरु माझ उतिकै लोकप्रिय थियो । उस्ले कन्भिन्स गरेपछि जो कोही पनि आफ्नो धारणा परिवर्तन गर्थे । त्यसैले स्थानिय तहका नेताहरुपनि ऊ देखि निकै प्रभावित थिए । कम्रेड उत्सवपनि समाजमा उतिकै लोकप्रिय थियो।

हरेक भेटमा कम्रेड विवश भन्ने गर्दथ्यो “माक्र्सले आफ्नो सन्तान र श्रीमती गरिबीकै कारण गुमाए । तर आफ्नो सिद्धान्तबाट विचलित भएनन्। उस्को कुराले कम्रेड उत्सवलाई निकै प्रभाव पर्दथ्यो । वास्तवमा कम्रेड विवश पनि आर्थिक रुपमा कमजोर थियो । अध्ययनकै निम्ति जीवनमा उस्ले संघर्ष भोग्नुपरेको थियो। ऊ जबज (जनताको बहुदलिय जनवाद) प्रणेता मदन भण्डारीबाट निकै प्रभावित थियो।

ऊ पार्टीका राष्ट्रवादी नेताहरुको निकै प्रशंशा गर्दथ्यो । ऊ दासढंगाको विषयमा कहिले कहिले निकै गम्भिर भएर सोच्थ्यो । ‘ हुन त यो विषयमा पार्टीका टाउकेहरुलाई पनि कुनै मतलब छैन । आखिर मेरो गम्भिरताले के हुन्थ्यो र ! ’उसले दासढुगां घटनाबारे अध्ययन गरेपछि यस बारेमा बढी घोतलिन थालेको थियो । ‘ दरबार हत्याकाण्ड पनि अहिले सम्म गुपचुप नै छ । यस्ता कयौँ घटनाहरु लुकाइएका छन् । हुन त देशमा गणतन्त्र आयो, अब बोल्ने स्वतन्त्रता छ हामीलाई । यसको बारेमा बोल्नुपर्छ, आवाज उठाउनुपर्छ।’ अपरिपक्व उमेरले परिपक्व कुरा गर्दा सबैलाई चकित तुल्याउँथ्यो। तर उस्ले लामो जीवन भोग्न बाँकी नै थियो। यो त उस्को अध्ययनको तत्कालिन प्रभाव पनि थियो ।  उत्सव उस्लाई सम्झाउँदै भन्थ्यो ‘कम्रेड यो तपाईको अध्ययनको असरमात्र हो। यसमा हाम्रो बलबुताले भ्याउँदैन।’ यो कुराले भने विवशलाई निकै पिरल्थ्यो।

३.

त्यो रात ऊ निदाउन सकेन। उसलाई पिरोलिरह्यो उही प्रिय साथी कम्रेड विवशको यादले। दिउँसो उसका बा–आमा को आर्तनादले शरीर गरुङ्गो बनाएको थियो। केश को यतिछिट्टै टुँगो लाग्छ भन्ने चिताएको पनि थिएन। ‘बाबु अब हामी जिउँदै मरे हुन्छ, कसका लागि बाँचौ!’ चाउरिएको गालामा आँसुको दह जमाउँदै विवशका बाबुले भने। उसँग कुनै जवाफ थिएन, जसले गर्दा उनीहरुको मन बुझोस् । र त्यस्तो ओखती पनि थिएन जस्ले उनीहरुको पीडालाई कम गराओस्। भएको त्यही एउटा छोरा, जीवनभरको सपना अब उनिहरु सामु कहिल्यै देखा पर्ने थिएन र हँसिलो अनुहारले कहिल्यै बोलाउने थिएन।

उत्सव त्यही भन्न गएको थियो, “काका रिपोर्ट अनुसार त्यो केश हत्या होइन, आत्महत्या भनिएको रहेछ। यति भनिरहँदा उत्सव आफैँलाई विश्वास थिएन त्यस रिपोर्टमाथि। उस्लाई पार्टीका नेताहरुदेखि घृणा जागेको थियो । प्रहरी अनुसन्धाप्रति आक्रोस जागेको थियो । जसको बलिदानबाट पार्टीको नेताले चुनाव जितेको थियो उसैले यस घटनाप्रति चाँसो नदेखाएको हुँदा राजनीतिप्रति वितृष्णा जागेको थियो । ‘थुइक्क,देशको राजनति’ ऊ मनमनै राजनेता प्रति सराप गर्दै थियो।

“बाबु, त्यसदिन मैले उस्लाई गाली पनि गरेको होइन। मेरो पकेटको खल्तीले पढाई गर्छस् कि राजनीति भनेर सम्झाएको हुँ । हुन त के थियो मसँग । बर ऊ आफैँ परिआएको काम गथ्र्यो। त्यसरी खर्च कहिल्यै गरेन । उसले दोहोर वचन नि गरेको होइन मसँग । विहानै घरबाट निस्कियो, फर्केर आएन । आखिर यस्तो हुन लेख्या रैछ भाग्यमा” अश्रुधार बगाउँदै भक्कानिए उनी,” आमाभने रुनसमेत नसक्ने अचेत अवश्थामा पुगिसकेको थिइन् । उत्सव धेरैबेर त्यहाँ रहन सकेन। ‘काका, यो हत्या हो। ऊ आत्महत्या गर्ने मनको होइन। म उसको आत्मालाई न्याय दिलाउँछु काका’ यति भनिरहँदा उसको ओठ काँपेको थियो। आफैँसँग नभएको आत्मविश्वास पनि देखाउन खोजेको थियो।

४.

बारम्बार झस्किरहन्थ्यो ऊ। “यो राणाशासन होइन, पन्चायती शासन पनि होइन, राज्यसत्ता हडप्ने शाही शासन पनि होइन । हामीले गणतन्त्रको उपभोग गर्न पाउनु हाम्रो अधिकार हो। हामीले स्वतन्त्रपूवर्क बोल्न पाउनु पर्छ, जनताको सुख र सुविस्ताको निम्ति आवाज राख्न पाउनु पर्छ ।यसमा तपाईहरुले धावा बोल्न पाउनु हुन्न । ”चुनाव को समयमा कम्रेड विवशले यो वाक्य बोलेको थियो । उस्को कुराले विपक्षी पार्टीका केही नेताहरु निकै रुष्ट बनेका थिए । यो कुरा सम्झेर उत्सबलाइ झनै पिरोलीरह्यो । उत्सव यसरी बोल्न अलि हच्कन्थ्यो । तर विवशमा त्यो डर कतै पाइन्न थियो । विवशको विकासप्रेमी सोचले पार्टीकै नेताहरुपनि आन्तरिक रुपमा ईश्र्या गर्ने भइसकेका थिए । तर उस्ले यो पटक्कै सोचेन।

चुनावको दिन नजिक आइसकेको थियो। जिल्ला तहका नेताहरुले पनि  विवशको क्षमतालाई नियालिसकेका थिए । प्रतिनिधि सभा क्षेत्र नं ३ बाट  उठेका पार्टीका उमेद्वार विजयराज पनि विवश र उत्सवलाई बढी नै काँखी च्याप्न खोज्थे । किनकी यि जति दिलोज्यान दिएर लाग्नेहरु सायदै भेटिन्थे ।

चुनावकै समयमा विवशलाई विपक्षी पार्टीका केही नेताहरुले धम्की दिएका थिए । “चुनाव त सकियोस् , त्यसपछि यो प्युसोलाई जानेका छौँ ” यसरी धम्किपनि आएको थियो ।त्यसैगरी आफ्नै पार्टीका केही स्थानिय नेताहरुले पनि आक्रोस पोखेका थिए ।  विवशले यसबारे कुनै भय देखाएन । तर उत्सवको मनमा भने केही भय र त्रासहरुले ठाउँ लिएका थिए । विवशलाई आफ्नो नेताहरुप्रति ठुलै विश्वास र  आदरभाव थियो । त्यसैले उसमा चिन्ताका रेखीहरु कतै देखिदैँन थियो।

चुनाव सकियो ,चुनावको परिणाम पनि आयो। विजयराजले चुनाव पनि जिते । देशभरमा जित्नेहरुले विजय जलसु सुरु गरे। गाउँमा पनि विजय जुलुस भयो । विजयराजलाई भोट हाल्नेहरु मध्यम हाँसो हाँसे, भोट नहाल्नेहरुले थुइक्क भनेर पश्चताप गरे। यतिकैमा दिन बित्दै गयो। चुनावी परिणाम आएको केही समय वित्यो । दिन उस्तैगरी चलिरहेको थियो। जसरी चुनावअघि चल्थ्यो।

५.

एकदिन साँझ उत्सवको मोबाइलमा नयाँ नम्बरबाट फोन आयो। फोन उठाएर हेलो भन्यो। उताबाट विवशको ब को मधुरो आवाज आयो“ बाबु विवश हिजोदेखी घर आएको छैन । तिम्रो मा आएको छ कि! ‘उत्सव केही दिनदेखी घर व्यवहारमै व्यस्त भएको हुनाले विवशसँग भेट हुन सकेको थिएन । “छैन काका ,कलेजको साथीको मा पो गयो कि फोन गर्नु न।’

“हिजोदेखी फोन अफ छ, धेरैलाई सोधिसके। कतै छैन अरे बाबु। ”

उत्सब झस्कियो । “नभेटे पनि हरेक दिन फोन गर्ने गर्दथ्यो उसले । तर हिजोदेखी फोन पनि आएको छैन । कता गयो त, म अरु साथीलाई सोध्छु । चिन्ता नगर्नु काका।”

“भेटियो भने फोन गर है बाबु” यति भनेपछि विवशका बाबुले फोन काटे।

तर उत्सवले पनि ढुक्कको सास फेर्न सकेन। त्यसरी विवश जानकारी वेगर कतै जादैँन थियो । उस्ले धेरैलाई फोन गरेर सोध्यो । तर कसैबाट छ भन्ने जवाफ आएन । त्यस दिन साँझ परिसकेको थियो । उताबाट विवशको बाबुको फोन लगातार आउँथ्यो । तर जवाफमा उही निराशताा फर्काउँथ्यो ।

त्यस साँझ खोधखोज मै वित्यो । भोलीपल्ट सबैतिर हल्ला फिँजियो विवश हराएको । सबै ठाउँबाट खोजिहुन थाल्यो । केही दिन वित्यो विवश भेटिएन । घरमा सहानुभूती पोख्नेहरुको घुँइचो लाग्न थाल्यो । भेटिन्छ भनेर कमैको मनमा आशा पलाएको थियो । पार्टीको जिल्ला तहका नेतासम्म पुग्यो यो खबर । जितेका उमेद्वार विजयराज सम्म पुग्यो यो खबर । तर आफु महत्वपूर्ण भ्रमणमा छु भनेर टारे । केही थोरै नेताहरुले मात्र चाँसो देखाएर लागे । हप्तादिन वित्यो, नबौँ दिन वित्यो तर विवश भेटिएन । दशौँदिनको दिन उस्को शरीर  भेटियो तर ऊ भेटिएन । उस्को सास टुगिंसकेको थियो । उस्को आँखाले हेर्न छाडिसकेको थियो । उस्को मष्तिस्कले सोच्न छाडिसकेको थियो।

विवश ले एकदिन कम्रेड उत्सवलाई सुनाएको थियो“ कम्रेड, कार्ल माक्र्सको निधनमा एङ्गेल्सले एक अमेरिकी मित्रलाई पत्रमा हाम्रो दलको सर्वश्रेष्ठ मस्तिष्कले सोच्न बन्द गर्यो, सर्वश्रेष्ठ मुटु चल्न छाड्यो भनेर लेखेका थिए रे । यहाँ पनि नेपालको कार्ल माक्र्स उर्फ मदन भण्डारी मारिँदा यस्तै त भयो नि है ! सायद यतिन्जेल हाम्रो पार्टी अझै सशक्त बनिसक्थ्यो होला । ”उत्सवको आँखामा आँसु थामिएन । वरिपरी सबैको मुटु भक्कानियो। यो खबरले दुनियालाई स्तब्ध बनायो । बुढा आमा र बाबु लामो समय अचेत भए । सम्हाल्ने स्थिती थिएन ।

गाउँको टाढा जगंलमा घाँसी महिलाहरुले भेटृाए उसको लास। घाँस काट्ने क्रममा निकै खोँचमा पुगेपछि अचानक एउटी घाँसीको आँखाले देख्यो । उनिहरु नराम्ररी आतिए । त्यसपछि सबैतिर खबर फैलियो । मानिसहरु भेला भए । लास निकै गन्हाइसकेको थियो।

प्रहरीले मुचल्का उठायो । पोष्टमार्टमका लागि लगियो । गाउँका सारा मानिसहरु आन्दोलित बने । उस्को हत्या गरिएको निश्चित थियो । अपहरण गरी राती जंगलमा लगेर पोइजन खुवाएर हत्या गरिएको सबैको अनुमान थियो । उत्सव निकै गलिसकेको थियो । नेताहरुलाई यसबारे झकझकाउने प्रयास गर्यो । तर कमैले चासो देखाए । देशमा राजनीतिक माहोलले स्थान पाएको थियो, सबै आ–आफ्नो अध्याय कोर्नमा व्यस्त थिए।

धम्की दिनेहरु ठूला पृष्ठभूमी भएकाहरु थिए ।उत्सवले निकै जोडबल गर्यो। तर उस्को पहुँचले कुनै माखो मार्न सकेन। ऊ थकित भयो । घटनाको प्रभाव विस्तारै सेलाउँदै गयो । रिपोर्टबाट आत्महत्या गरिएको  भनेर आयो । जुन उत्सव र परिवारको निम्ति कदापी स्विकार्य थिएन । तर बाँकीले यसै रिपोर्टलाई चित्त बुझादिए । र घटनाको प्रभाव अन्ततः ठप्प भइदियो ।

“कम्रेड दासढुंगाको विषयमा पुनः आवाज उठाउनु पर्छ” कम्रेड विवशले भनेको यो वाक्यले उत्सवलाई वाणले झैँ हान्यो । “ हामी आवाज उठाउन पाउँछौ, गणतन्त्रको उपभोग गर्न पाउनु हाम्रो अधिकार हो ।”उत्सब मुर्छित भइदिन्छ । सत्य भ्रम झैँ लागिरहेछ उसलाई ।

६.

आँखा नझिम्क्याई विहान हुन्छ। ११ बजे कमिटीको समिक्षा बैठक छ। अध्यक्षमार्फत सेडियुल उस्को मोबाइलको म्यासेन्जरमा आइपुग्छ। चुनावी परिणामको समिक्षा र विजेता नेताहरुलाई बधाई। साथमा उस्को प्रिय कमरेडको निम्ति एक मिनेट मौनधारण! उसलाई त्यसदिन सहिनसक्नु हुन्छ। ज्वरो फुटेजस्तो हुन्छ।

ऊ पार्टी कार्यालय पुग्छ। तर उस्लाई विरानो ठाउँ आएझैँ लाग्छ। उसैगरी विद्यार्थीहरु अभिवादन गरिरहेका छन् । तर उस्को मुठ्ठी कसिलो हुँदैन, हात उठ्नै सक्दैन । एक आपसको आत्मियता भ्रम झैँ लागिरहेछ। अध्यक्ष कमरेड जीवन उस्का अघि आएर उभिन्छन्, र उस्को अनुहारको भाव पढेझैँ गरी भन्छन् “कमरेड अझै शोकमा हुनुहुन्छ ?अब त चित्त बुझाउनु पर्छ। ”

ऊ केही  बोल्दैन। मौन रहन्छ। प्रायः कम्रेडहरुको अनुहारमा विजय भाव झल्किरहेको थियो। हातमा सयपत्री फूलको माला लिएर कम्रेडहरु विजयी नेतालाई कुरिरहेका थिए। यो उल्लासमा कसैलाई पश्चताप छैन कि एउटा इतिहासको लेख्नै नपाई मृत्यु भएकोमा । कसैलाई थाहा छैन कि एउटा युग उदाउनै नपाई ध्वशं भएकोमा। कसैलाई थाहा छैन । बस् कसैलाई थाहा छैन । केवल सबैलाई थाहा छ पार्टीका महान नेताले चुनाव जितेका छन् । सबैलाई थाहा छ आज १ मिनेट मौनधारण र १ सय १९ मिनेट विजयको नाउँमा दिपावली गरिनेछ । बस् यही थाहा छ। त्यसैले ऊ यहाँ एकैछिन बस्न चाहदैँन । यो दृश्यले ऊ झनै मर्माहत हुन्छ। आफु बिलखबन्दमा परेको महशुस गर्छ। समयका प्रत्येक सेकेण्डहरुले मुटुमा प्रहार गरेझैँ लाग्छ।

यो पीडामा उस्ले आफ्नो सर्टको बगली छाम्छ। त्यहाँ एउटा खाम छ, खामभित्र विहान लेखिएका केही महत्वपूर्ण अक्षरहरु छन् । उस्ले बोगलीबाट त्यो बन्द खाम झिक्छ र अध्यक्ष कम्रेडलाई हस्तान्तरण गर्दै भन्छ– ‘कम्रेड, म यो भूमिकाबाट आजित भए। म संगठनको बाहिरै बसेर पार्टीलाई सहयोग गर्छु । यसभित्र मेरो राजीनामा पत्र छ।  आशा छ यसलाई स्विकार गर्नुहुन्छ।’ त्यसपछि ऊ पाइला लम्काएर बाटोतर्फ लाग्छ। कमरेड जीवन अनौठो भावमा ऊ गएको बाटोतर्फ हेरिरहन्छ। केवल हेरिरहन्छ…!

 

 

 

 

Share:

© 2017 Setopati Sanchar Pvt. Ltd.