भैरहवाको पाँचतारे रिसोर्ट टाइगर प्यालेसमा भारतीय पर्यटकको आकर्षण


काठमाडौं बाहिर संचालनमा रहेको एकमात्र पाँचतारे रिसोर्ट भैरहवाको टाइगर प्यालेसमा भारतीय पर्यटकको आकर्षण बढेको छ। विदेशी लगानीमा संचालित उक्त रिसोर्टमा सबैभन्दा बढी भारतीय अतिथिहरु आउने गरेको रिसोर्टले जनाएको छ।

अष्ट्रेलियास्थित बहुराष्ट्रिय कम्पनी सिल्भर हेरिटेज ग्रुपले रुपन्देहीको कोटिहवामा क्यासिनो सहितको टाईगर प्यालेस रिसोर्ट संचालन गरेको हो।

नेपालमा पहिलो पटक रिसोर्ट संचालन गरेको हेरिटेज ग्रुपले ५ अर्ब रुपैयाँ लगानी गरेको छ।

पहिलो चरणमा १ सय कोठा सञ्चालनमा ल्याइएको छ।  ४ वटा जुनियर स्वीट, ६ वटा स्वीट र २ वटा भिल्ला छन्। भिल्ला र स्वीटबाट सिधै स्वीमिङ पुलमा जान सकिने छ।

रिसोर्ट संचालन भएदेखि राम्राे  अकुपेन्सी रहेको र प्रत्येक महिना बढिरहेकाे  सेल्स एण्ड मार्केटिङ निर्देशक प्रभाकर खड्काले जानकारी दिए।

भारत, चीन र युरोपियनहरु रिसोर्टमा नियमित आउने गरेको उनको भनाइ छ। त्यस्तै नेपालीहरु पनि नियमित ग्राहक रहेको उनले बताए।

 

भारतको सिमादेखि ८ किलोमिटरको दुरीमा रहेको रिसोर्टमा भारतीयहरु क्यासिनेदेखि सभा समारोह गर्नसमेत आउने गरेका छन्।

१५ सय देखि २ हजारसम्म अट्ने ब्याक्वेट हल बनाउने याेजना बनाएकाे  रिसोर्टमा भारतबाट विवाह पार्टीदेखि कर्पोरेट पार्टीसम्म गर्न आइरहेको खड्काले जानकारी दिए।

काठमाडौं बाहिर ठूलो लगानीमा होटल संचालन गर्न व्यवसायीहरु डराइरहेको अवस्थामा संचालन भएको टाइगर प्यालेसले भने राम्रो व्यापार थालेको छ।

भैरहवामा निर्माणाधीन अन्तर्राष्ट्रिय विमानस्थललाई पर्खेर कतिपय होटल व्यवसायीहरु बसिरहेका छन्। टाइगर प्यालेसले दोस्रो चरणमा थप कोठा निर्माण गरी संचालन गर्ने योजना बनाएको छ।

देशको आर्थिक सम्वृद्धिको पहिलो आधार पर्यटन व्यवसाय रहेकोले आन्तरिकसंगै बाह्य पर्यटकहरुलाई लक्षित गरी होटल संचालन गर्ने क्रम बढेको हो।

रिसोर्टमा अहिले ७ सय बढीले रोजगारी पाइरहेका छन्, जसमा  स्थानीय पनि छन्। रिसोर्ट १६ बिघा क्षेत्रफलमा फैलिएको छ। यहाँ संचालित क्यासिनो नेपालकै सबैभन्दा ठूलो र सुविधायुक्त रहेको रिसोर्टको दावी छ।

यहाँ  स्पा, जिम हल, बच्चाहरु खेल्ने हल, अनलाइन गेम प्ले स्टेशन लगायतका सुविधा छन्।

यस किसिमको रिसोर्ट सञ्चालनमा आएपछि नेपालको पर्यटन उद्योगमा नयाँ विशेषता थपिने र अन्तर्राष्ट्रिय पर्यटन बजारमा पनि छुट्टै सकारात्मक सन्देश जाने विश्वास गरिएको छ।

तस्वीरः भगवति पाण्डे/सेतोपाटी

 

Share:

© 2017 Setopati Sanchar Pvt. Ltd.