करबाकेली इको ट्रेक’ पदमार्ग शुभारम्भ


म्याग्दीमा नयाँ पदमार्ग ‘करबाकेली इको ट्रेक’ को शुक्रबार औपचारिक शुभारम्भ भएको छ।

करबाकेली पर्यटन व्यवस्थापन समितिद्वारा शुक्रबार काठमाडौंमा आयोजित कार्यक्रममा नेपाल पर्यटन बोर्डका निर्देशक काशीराज भण्डारी र ‘टान’का अध्यक्ष नवराज दाहालले पदमार्गको नक्सा, पोस्टर, क्यालेन्डर र बुकलेट विमोचन गर्दै पदमार्गको शुभारम्भ गरेका हुन्।

कास्कीको वीरेठाँटी, तीखेढुंगा, उल्लेरीहुँदै म्याग्दीको घोडेपानीबाट पुनहील, फूलबारीहुँदै करबाकेलीथान भएर बेनीबजार निस्कने पदमार्गलाई करबाकेली इको ट्रेककारुपमा ‘ब्रान्डिङ’ गरिएको हो ।

मोटर बाटोले प्रख्यात पदमार्गहरू समस्यामा पर्दै गएको बेला खुलेको करबाकेली पदमार्गले अन्नपूर्णलाई पुनर्जिवन दिन मद्धत गर्ने भन्दै यसको विकासका लागि स्थानीयसँग सहकार्य गरेर अघि बढ्न तयार रहेको नेपाल पर्यटन बोर्डका निर्देशक काशीराज भण्डाले भने।

कार्यक्रमलाई सम्बोधन गर्दै टानका अध्यक्ष नवराज दाहालले वैकल्पिक पदमार्गका रूपमा करबाकेली प्रवर्धन गर्न सकिने बताए। ‘यो पदमागर्गको  भविश्य सुन्दर छ। पर्यटन विकासमा स्थानीयको सक्रियता प्रेरणादायी छ। हामी यसको उचित मार्केटिङ गर्नेछौ,’ उनले भने।

म्याग्दी भ्रमण वर्ष २०७५ को अबसर पारेर म्याग्दीमा नयाँ पदमार्ग करबाकेली इको ट्रेक एक्सप्लोर भएको हो। कास्कीको वीरेठाँटी, तिखेढुँगा, उल्लेरी हुँदै म्याग्दीको घोडेपानीबाट पुनहिल हुँदै करबाकेली थान भएर बेनी बजार निस्कने पदमार्गलाई करबाकेली इको ट्रेकका रुपमा ब्राण्डिङ गरिएको हो।

पुनहिलबाट दक्षिण पश्चिम भेकको करबाकेली क्षेत्र प्राकृतिक, सांस्कृतिक र ऐतिहासिक रुपले महत्वपूर्ण थलो भएता पनि पर्यटनबाट खासै फाइदा लिन नसकेको भन्दै स्थानीयलाई पर्यटनमा सहभागी गराएर मुलुकभित्रै रोजगारीको वातावरण सृजना गर्ने उद्धेश्यले करबाकेली पदमार्ग अबधारणा अघि बढाएको करबाकेली पर्यटन व्यवस्थापन समितिकाका सल्लाहाकार यामबहादुर पुनले बताए।

‘यो पदमार्ग क्षेत्रमा बिशेषतः पुन समुदायको बसोबास छ । हामी पुनहरुका कुल देवता करबाकेली बाबा हुन्। हामीले काफलडाँडामा करबाकेली बाबाको राष्ट्रियस्तरको थान (मन्दिर) बनाइसकेका छौं । त्यस थानभित्र करबाकेली बाबा, उनका दुई श्रीमती हिमला र फिमला एवं दुई छोरा रामचन र कुलचनका मूर्ति राखिएको छ, तिनै करबाकेली बाबाको नाउँमा हामीले यो पदमार्गको नामाकरण गरेका हौं,’ उनले भने।

पदमार्गको सबैभन्दा उचाई पुनहिल (३,२१० मिटर) हो । धेरै उचाई नभएकाले सबै उमेरका बालकदेखि बृद्धसम्म करबाकेली पदमार्ग भ्रमण गर्न सक्छन्। सजिलो, राम्रो र सस्तो भएकाले यस क्षेत्रमा पर्यटकको आकर्षण बढ्नेमा समितिको विश्वास छ।

दिनको २ हजार रुपैयाँ भएमा बिहान, बेलुका र साँझको खानाका साथै बास बस्नलाई पुग्छ । करबाकेली पदमार्ग भ्रमण गर्न काठमाडौंबाट एक साता समय छुट्टयाए पर्याप्त हुन्छ ।

वैशाख पहिलो साता काठमाडौंको कन्सेप्ट नेपाल नामक संस्थाको विज्ञ टोली झिकाएर करबाकेली बाबा संरक्षण समिति काफल डाँडाको अगुवाईमा पदमार्ग एक्सप्लोर गरिएको थियो।

एक्सप्लोरेशन हुनेवित्तिकै यो पदमार्गको नक्शा, बृत्तचित्र, पोस्टर, क्यालेण्डर र बुकलेट उत्पादन भइसकेको छ।

भ्रमण तालिका

करबाकेली पदमार्गको यात्रामा निस्कनेहरु पहिलो दिन वीरेठाँटी वा तिखेढुँगासम्म जिपमा आएर उल्लेरीमा पहिलो बास बस्नेछन् । दोस्रो दिन घोडेपानीमा बास हुनेछ । तेस्रो दिन घोडेपानीबाट पुनहिल उक्लेर लन्च खान फूलबारी पुग्नेछन् । त्यो दिनको बास करबाकेलीथानमा हुनेछ ।

करबाकेली थानबाट भने हामीले पर्यटकलाई ४ वटा विकल्प दिएका छौं । पहिलो विकल्प करबाकेलीबाट बैसरीको ओरालो झर्ने । बैसरीबाट बेनीसम्म ९ किमि गाडीमा चढेर बेनी बजारमा बास बस्ने ।

दोस्रो विकल्प करबाकेली थानबाट महभिर हुँदै मल्लाज भएर बेनी बजारमा बास बस्ने ।

तेस्रो विकल्प करबाकेली थानबाट रीमा हुँदै औंल, बैसरी हुँदै बेनी बजार पुग्ने ।

र, चौंथो विकल्प करबाकेली थानबाट नागी हुँदै पर्वतको फलामे डाँडा पुगेर बास बस्ने । अर्को दिन फलामेडाँडाबाट बेनी बजार झर्ने । पर्यटकले इच्छा अनुसार रुट चयन गर्नेछन् ।

हिमाल, वनजंगल, जैविक विविधता, गाउँले जीवनशैली र पुन समुदायको संस्कार र संस्कृति अध्ययन गर्न करबाकेली पदमार्ग उपयुक्त छ।

यो पनि हेर्नुहोस्

 खुल्यो करबाकेली पदमार्ग

Share:

© 2017 Setopati Sanchar Pvt. Ltd.