खप्तडमा कविहरु रमाउँदा…

कन्सेप्ट नेपालको खप्तड काव्य यात्रा २०७५ सम्पन्न


आध्यात्मिक भूमी खप्तड राष्ट्रिय निकुञ्जको पर्यटन प्रवर्धनमा टेवा पुर्‍याउन राजधानीको कन्सेप्ट नेपालले आयोजना गरेको ‘खप्तड काव्य यात्रा २०७५’ का सहभागीहरु खप्तडको सौन्दर्यमा लठ्ठ परेका छन्। जेठ ८ गते खप्तडमा पाइला टेकेका कवि, लेखक र पत्रकारहरु यहाँको प्राकृतिक, साँस्कृतिक र आध्यात्मिक सौन्दर्यले मोहित बनेका हुन्।

यात्रामा मुलुकभित्रका २७ यात्री सहभागी थिए। काठमाडौंबाट जेठ ६ गते यात्रामा निस्किएको टोलीले डोटीको शैलेश्वरी मन्दिर, भागेश्वर र सालुमनि दर्शन गर्नुका साथै खप्तड क्षेत्रका विशाल पाटन, त्रिवेणीधाम, केदार ढुंगा, घोडा दाउने, सहस्रलिंग, खप्तड ताल, खप्तड बाबा आश्रमलगायत सम्पदा भ्रमण गर्‍यो।

बिचपानी, त्रिबेणीधाम र निकुञ्ज मुख्यालयमा गरी उनीहरुले खप्तडमा तीन रात बिताए। शान्त, शीतल एवं आध्यात्मिक भूमीमा यात्रा गर्न पाउँदा साहित्यकार एवं पत्रकार गद्गद् भए । उनीहरुले आगामी दिनमा आफ्ना सृजनामा खप्तडका अनुभूति र विम्बहरु पस्कने प्रतिबद्धता जनाएका छन् ।

जेठ १० गते खप्तडमा मनाइएको गंगा दशहराको अबसर छोपेर कन्सेप्ट नेपालले काव्य यात्राको चाँजो मिलाएको हो। दशहरामा बझाङ, बाजुरा, अछाम र डोटीका स्थानीयले रातभर डेउडा गाएका थिए। भोलिपल्ट त्रिबेणीधाममा नुहाएर सहस्रलिंग दर्शन गरेर तिर्थालु फिर्ता भए। यसरी गंगा दशहराको मेला भर्दा पुन्य मिल्ने जनविश्वास छ।

दशहरा मेलाकै अवसरमा निकुञ्जको मध्यवर्ति क्षेत्र व्यवस्थापन समितिले दुई दिने खप्तड पर्यटन महोत्सव आयोजना गर्‍यो। महोत्सवको उद्घाटन काव्य यात्री एवं राष्ट्रिय गानका लेखक व्याकुल माइलाले गरेका थिए। महोत्सवमा सांस्कृतिक झाँकी प्रदर्शन र भलिबल प्रतियोगिता गरिएको थियो।

यसअघि सुन्दर सुदूरपश्चिम अभियानका परिकल्पनाकार एवं अगुवा गोपी हमालले धनगढीमा काव्य यात्राका संयोजक अमृत भादगाउँलेलाई राष्ट्रिय झण्डा दिएर यात्रा शुभारम्भ गरेका थिए। त्यसैगरी खप्तडमा निकुञ्जका वार्डेन चन्द्रबहादुर चन्द, मध्यवर्ती क्षेत्र व्यवस्थापन समितिका अध्यक्ष रामप्रसाद उपाध्याय लगायतले टोलीलाई खादा लगाएर सम्मान गरे।

त्यस्तै दिपायलमा डोटी उद्योग वाणिज्य संघले टोलीलाई विदाई गरेको थियो। ‘खप्तडको पर्यटन प्रवद्र्धनमा काव्य यात्रा कोशेढुँगा बन्ने आशा गरेका छौं,’ संघका अध्यक्ष नरेन्द्र खड्काले भने।

यात्रा क्रममा खप्तडमा साइक्लिङ पर्यटनको सम्भावना पनि खोतलिएको छ। साइक्लिङका विज्ञहरुले खप्तड साहसिक खेल पर्यटन केन्द्र बन्न सक्ने औंल्याएका छन्।

टोलीले खप्तडबाट फर्कनुअघि त्यहाँ आ–आफ्ना काव्य अनुभूती सुनाएका थिए। आयोजकले काव्य यात्रा अनुभव संगालो एउटा पुस्तक र खप्तड चिनाउने बृत्तचित्र निर्माण गर्ने जनाएको छ।

‘खप्तडमा काव्य यात्री त खुशी भए नै, काव्य यात्रा आयोजक पनि हौसिएको छ। काव्य यात्राले खप्तडलाई चिनाउने मद्धत गर्नेछ । ‘खप्तड यात्रा सफल भयोʾ, यात्राका संयोजक पत्रकार भादगाउँले भन्छन्, ‘कवि, लेखक र पत्रकारको लेखनीमा खप्तड काव्य यात्राको प्रभाव दीर्घकालसम्म परिरहनेछ।’

यात्रामा राष्ट्रगानका लेखक व्याकुल माइला, कवि एवं पत्रकार अभय श्रेष्ठ, कवि एवं निबन्धकार भूपिन, कवि निमेष निखिल, कवि एवं सांस्कृतिक अध्येता हेमन्त विवश, कवि हेमन यात्री, कवि एवं उपन्यासकार गनेस पौडेल, पत्रकार एवं आख्यानकार घनश्याम खड्का, गीतकार सागर उदास, कवि एवं नियात्राकार आरके अदिप्त गिरि, समिक्षक उदय अधिकारी, कवि एवं पत्रकार अमृत सुवेदी, कवि दिपेन्द्रसिंह थापा, गजलकार टोपेन्द्र शाह, यात्रा लेखक सुरेन्द्र राना, डकुमेण्ट्री मेकर होमनाथ भण्डारी, ग्रामीण पर्यटनविज्ञ तारानाथ पहारी, पत्रकारहरु चन्द्र काफ्ले, अरुण बम, प्रकाश बम, टिआर पौडेल, पवन महरा र अमृत भादगाउँले लगायतको सहभागीता थियो।

त्यसैगरी साइकलेहरुमा नेपाल साइक्लिङ संघका उपाध्यक्ष सुदिप पौडेल, महासचिव रञ्जन राजभण्डारी, सचिव  देवेन्द्र बस्न्यात र सदस्य गोपाल श्रेष्ठ काव्य यात्राका सहभागी  भए।

यात्राको प्रवद्र्धक नेपाल पर्यटन बोर्ड रहेको छ भने सहयोगीहरुमा डोटी उद्योग वाणिज्य संघ, रैका टुर्स एण्ड ट्राभल्स, पूर्वी चौकी गाउँपालिका डोटी, नव जीवन सहकारी धनगढी, एभियसन म्युजियम काठमाडौं, शिखर नगरपालिका–१० डोटी, खप्तड राष्ट्रिय निकुञ्ज र मध्यवर्ती क्षेत्र व्यवस्थापन समिति लगायत छन्।

खप्तड काव्य सम्मान

खप्तड काव्य यात्राको सिलसिलामा सुदूरपश्चिममा बसेर लोकसंस्कृतिमा योगदान पुर्‍याएका तीन जना स्रष्टालाई आयोजक कन्सेप्ट नेपालले ‘खप्तड काव्य सम्मान’ अपर्ण गरेको छ। डोटी सदरमुकाम सिलगढीको शैलेश्वरी मन्दिर हातामा आयोजना गरिएको कार्यक्रममा कलाकार धनबहादुर मल्ल, डेउडा गायक गोपाल पार्की र हुड्केली कलाकार पदम नेपालीलाई सम्मान गरिएको हो।

उनीहरुलाई प्रमुख अतिथि राष्ट्रिय गानका लेखक व्याकुल माइलाले सम्मानपत्र प्रदान गरेका थिए भने काव्य यात्रा संयोजक अमृत भादगाउँलेले जनही दश हजार रुपैयाँ नगद हस्तान्तरण गरे। त्यसैगरी मन्दिर व्यवस्थापन समितिका अध्यक्ष प्रेमशंकर भट्टले सम्मानितहरुलाई खप्तड काव्य यात्रा लेखिएको टोपी लगाइदिए ।

आजीवन लोकसंस्कृतिको साधनामा समर्पित स्रष्टाहरुले सम्मान पाएकोमा त्यहाँ उपश्थित सबैले प्रशंसा गरेका थिए । पुरस्कार छनोट समितिका संयोजक कवि हेमन्त विवशले भुइँ मान्छेको योगदानको कदर गर्न सबैलाई प्रेरणा मिलोस् भनेर सम्मान गरिएको जनाए ।

हेर्नुहोस् केही तस्बिरहरू

Share:

© 2017 Setopati Sanchar Pvt. Ltd.